छातीमा गोली हानेर युवतीको हत्या

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।

उनको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, “म घटनास्थलमा आफैं  खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ ।”

भरुवा बन्दुकले मृतक युवतीको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले जानकारी दिए । गोली कसले हानेको भन्ने विषयमा अहिलेसम्म यकिन जानकारी नखुले पनि घरमा अरु कोही नभएको र उनका २२ वर्षीया श्रीमान् खड्क वन मात्रै भएकाले उनले नै हानेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टीको कोठामा घटना भएको र सोही कोठाको एक कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृतक अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेका बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफू माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीको टोली घटनास्थल पुगी खड्क वनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको गएको फागुन १३ गते विवाह भएको खुल्न आएको प्रहरी प्रमुख देउवाले बताए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button