धौलागिरी अस्पतालमा सघन उपचार कक्ष निर्माण शुरु

तारानाथ आचार्य । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि सघन उपचार कक्ष निर्माण हुने भएको छ ।

सरकारको रु एक करोड र बाँकी अस्पतालको खर्चमा सघन उपचार कक्ष निर्माण हुने अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा चार शय्याको आइसोलेसन कक्ष निर्माण गरेको थियो । अहिले दुई शय्यामा बिरामी राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । बागलुङमा नै दुई जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेपछि ती दुबै जनालाई आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिए ।

“कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) को अभाब रहेको छ”, उनले भने “त्यसैले अस्पतालले सघन उपचार कक्ष निर्माणको प्रक्रिया अघि बढाएको छ ।” “सघन उपचार कक्ष निर्माण र आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि मङ्गलबार बोलपत्र आह्वान गरिएको छ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भन्नुभयो, “सात दिनको समय राखेर बोलपत्र आह्वान गरिएको छ ।” “हामी संरचना बनाउँछौं, त्यसका लागि प्रक्रियाको थालनी भइसकेकोे छ”, उनले भने, “जतिसक्दो छिटो काम गर्न भनेका छौं ।’

नेपाल सरकारले धौलागिरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने भन्दै रु एक करोड बजेट विनियोजन गरेको छ । सरकारले पठाएको सोही रकम खर्च गरेर पूर्वाधार निर्माणको काम थालिएको अध्यक्ष रानाको भनाइ छ । सघन उपचार कक्ष निर्माण पश्चात श्वासप्रश्वास, मुटु र मृगौलालगायत समस्या भएका बिरामीको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि ध्यानमा राखेर तत्काल सघन उपचार कक्षको निर्माणको प्रक्रिया थालेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । “अब पूर्वाधारको पाटोका सबै काम हुन्छ”, उनले भने, “आवश्यक जनशक्ति पठाउने काम सरकारको हो । आशा गरौं हामीले काम सक्दा जनशक्तिको पनि व्यवस्था हुनेछ ।”

यो अस्पताल कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्ने मुलुककै तेस्रो अस्पताल हो । पहिलो काठमाडौंको टेकु, दोस्रो धनगढीको सेती प्रादेशिक र तेस्रो यो अस्पताल हो । “हामिले दुई हप्तादेखि २० दिन सम्ममा आईसीयू बनाउँछौं’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पोखरेलले भने, “जतिसक्दो छिटोबनाउने प्रयत्न भैरहेको छ ।” उनले अत्यावश्यक सेवा भएकाले सबै सरोकारवालाको सहयोगमा काम छिटो सकिने विश्वास व्यक्त गरे ।

साविक धौलागिरीका चार जिल्लाका झण्डै ६ लाख नागरिकको उपचार गर्नुपर्ने जिम्मेवारी बोकेको यो अस्पतालमा यतिखेर कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा चेकजाँचका लागि आउने बिरामीको चाप बढ्दो छ । बागलुङ जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पताल भएका कारण पनि यहाँ कोरोना सङ्क्रमयाको आशङ्कामा उपचार गराउन आउने बिरामीको चाप बढेको हो । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button