पोखरामा विरामी बोक्न नमान्ने तथा पास दुरुपयोग गर्ने एम्बुलेन्स र गाडी चालक कारवाहीमा

पोखरा । पोखरामा विभिन्न बहानामा विरामी बोक्न नमान्ने एम्बुलेन्स र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीले बोलाउदा समेत विभिन्न बहाना गरी सेवा दिन आनाकानी गर्ने २ वटा स्वास्थ सेवामा प्रयोग हुने एम्बुलेन्स र चालकलाई सोमबार नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

एम्बुलेन्सले सेवाग्राहीलाई सेवा प्रदान गर्न आनाकानी गर्ने गरेको गुनासोका आधारमा अनुगमन गर्दा सेवा प्रवाह गर्न नमान्ने मेट्रो सिटी र फेवा सिटी अस्पतालबाट संचालित ग१च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स तथा चालकलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले सोमबार सक्रियताका साथ अस्पतालहरुको फिवर क्लिनिक र एम्बुलेन्स सेवाको अनुगमन गर्ने क्रममा संकटको बेला आफ्नो कर्तव्य पालना नगर्ने एम्बुलेन्स तथा चालकलाई नियन्त्रणमा लिइएको जनाउदै एसपी कार्कीले उनीहरुलाई कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइएको बताए ।

त्यसैगरी लकडाउनको समयमा विभिन्न प्रयोजनका लागि भनेर सवारी पास बनाई पासको दुरुपयोग गर्दै यात्रु ओसारपसार गर्ने सवारीसाधन र तिनका चालकलाई समेत कारवाही गरिएको एसपी कार्कीले बताए ।

एम्बुलेन्समा १५ जना मानिसहरु राखी पर्बतबाट धादिङ तर्फ जान लागेका धादिङ गजुरी गाउपालिका पिंजडा स्वास्थ चौकीबाट संचालित बा२झ ३०९८ नम्बरको एम्बुलेन्स र प्राबिधिक स्वास्थ केन्द्र धादिङबाट संचालित बा२झ ४३३३ नम्बरको एम्बुलेन्स र चालकहरु पोखरामा नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको एसपी कार्कीले उल्लेख गरे।

त्यसैगरी मानिसको मृत्यु भएकोले मलामी जानको लागि भनि कास्की प्रशासनबाट सवारी पास बनाएर पासको दुरुपयोग गरी पैसा लिएर सवारी साधनमा मानिस ओसारपसार गर्ने स्याङ्जा भिरकोट -६  बस्ने लिला प्रसाद पंगेनी र अर्जुनचौपारी – ५ बस्ने प्रताप पौडेललाई पक्राउ गरी आइतवार कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको एसपी कार्कीले जनाए ।

पोखरामा मंगलबार लकडाउनको उल्लंघन गर्ने करिव  २ सय सवारीसाधन तथा व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गरेर छाडिएको एसपी कार्कीले बताए । संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएकै ठाउँमा सामाजिक दुरी कायम गराएर कारवाही गरेर छाडिएको एसपी कार्कीले  जानकारी दिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button