वुहानमा ११ हप्ते लकडाउन खुल्यो, ६५ हजारले शहर छाडे

चीन । विश्वव्यापी महामारी कोरोना भाइरसको पहिलो केन्द्रविन्दु बनेको चीनको वुहान शहरमा ११ हप्ते लकडाउनको अन्त्य भएको छ ।

बुधबार लकडाउन अन्त्य भएको केही घण्टामै ६५ हजारले शहर छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लकडाउन खुलेसँगै त्यहाँ राजमार्ग, सुरुङमार्ग र पुलहरु खोलिएका छन् । त्यस्तै रेल, हवाईजहाज र बस जस्ता सार्वजनिक यातायात पनि सुचारु हुँदा निजी कार तथा अन्य सवारीसाधन पनि चलेका छन् । त्यहाँ यस अघि नै लकडाउन खुकुलो पार्दै लगिएको हुँदा बजारहरुमा पनि बिस्तारै चहलपहल देखिन थालेको जनाइएको छ ।

लकडाउन खोलिए पनि त्यहाँ अझै कोरोना रोकथामका कतिपय उपायहरु भने अवलम्बन गरिइरहेको जनाइएको छ । अनिवार्य गरिएको एक स्मार्टफोन एप्लिकेसनमार्फत ट्र्याकिङ र सरकारी निगरानी राखिएका स्वस्थ्य तथा संक्रमितसँग कुनै सम्पर्क नरहेकाहरुलाई मात्र यात्रा गर्न दिइएको छ । त्यस्तै यात्रा पश्चात् सबैले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने पनि जनाइएको छ ।

यता लकडाउन खोलिएको बुधबारको दिन मात्रै चीनमा ६२ जना नयाँ संक्रमित फेला पर्दा दुई जनाले भाइरसबाट ज्यान गुमाएका छन् । २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक देखा परेको कोरोना भाइरसका कारण चीनमा मात्रै ३ हजार ३ सय ३३ ज्यान गुमाएका थिए भने लगभग ८२ हजार संक्रमित भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button