तनहुँमा आफूखुशी राहत वितरण गरे कारवाही गरिने

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले लकडाउनको बेला आफूखुशी राहत सङ्कलन र वितरण गर्नेलाई कारवाही गर्ने भएको छ । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुशी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले आफूखुशी राहत वितरण कार्य सरकारको नीतिविपरीत भएको हुँदा त्यस्तो नगर्न नगराउन र त्यस्ता किसिमका राहत वितरण कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र गर्न सचेत गराइएको जानकारी दिए । कतिपय उद्योग व्यवसायीबाट अत्यावश्यक वस्तुको मूल्यवृद्धि गरेको, उपभोक्तासँग बढी रकम असुल गरी कालोबजारी गरिएको भन्ने बुझिन आएकाले त्यस्ता कार्य नगर्न नगराउन पनि प्रशासन कार्यालयले सचेत गराएको छ ।

यसैबीच लकडाउन जारी भएपछि तनहुँ जिल्लामा अलपत्र परेका एक हजार २ सय  भन्दा बढी कामदारलाई उद्धार गरी घर पठाइएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालित सडक आयोजना, नाला, पुललगायतमा काम गर्ने कामदारलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर घर पठाएको हो ।

लकडाउन शुरु भएदेखि हालसम्म एक हजार २ सय ३० कामदारको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए  । जिल्लामा सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको र विदेशबाट फर्किएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले बताए। -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button