बागलुङमा भारतबाट आएका ८ को स्वाब सङ्कलन

बलेवा । बागलुङको बरेङ गाउँपालिकामा भारतबाट आएका छसहित आठ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाइनमा पुगेर थ्रेट स्वाब सङ्कलन गरेको हो ।

नेपाल–भारत सीमाको गौरीफन्टा नाका हुँदै आएका कैलालीका एक युवामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चारको परीक्षण थालिएको हो । उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा सात दिन बसेर बागलुङको बरेङ आएका थिए । बरेङ आएको दिनदेखि नै सर्बोदय माविको क्वारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रेट स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

त्यस्तै भारतकै मुम्बइबाट आएका दुई जनाको पनि स्वाब सङ्कलन भएको छ । गुल्मीको शान्तिपुरसम्म उनीहरुलाई लिन पुगेका थप दुई जनाको पनि स्वाब सङ्कलन गरिएको गुरौले बताए । उनीहरु नयाँबजारको जनता प्राविको क्वारेन्टाइनमा बसेका छन् । मङ्गलबार सङ्कलन भएको स्वाब आज बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइने छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button