कास्कीको रुपामा क्वारेन्टाइनमा बसेका ५५ जना घर फर्के

हरि बाँस्तोला । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण गर्ने लक्ष्यका साथ रुपा गाउँपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन खाली भएका छन् । कोरोना सङ्क्रमण भित्रन नदिन प्रवेश निषेध गराएको गाउँपालिकामा नयाँ मानिस नथपिएको र बसेका व्यक्तिले पनि अवधि पार गरेका कारण बुधबारदेखि क्वारेन्टाइन खाली भएका हुन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गाउँपालिकाको वडा नं ५ स्थित देउरालीमा रहेको क्वारेन्टाइन र घरघरमै निगरानीमा राखिएका सम्पूर्ण व्यक्तिको १४ दिनको अवधि पूरा गरेसँगै क्वारेन्टाइन रित्तिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए  । नेपाल सरकारले मुलुकभर लकडाउन घोषणा गरेसँगै विशेषतः विदेशबाट फर्किएका व्यक्तिलाई लक्षित गरी क्वारेन्टाइन सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसार यस अवधिमा गाउँपालिकामा कूल ५६ क्वारेन्टाइनमा बसेका मध्ये ५५ जनाले अवधि पूरा गरेका थिए भने एक जनाको निधन भएको थियो । मृतक व्यक्तिको नमूना परीक्षणपश्चात रिपोर्टमा नेगेटिभ देखिएको हो । चैत महिनाको १० गतेदेखि स्थापना गरी पालिकाको वडा नं ५ मा सञ्चालन गरिएको क्वारेन्टाइनमा मङ्गलबार २५ गते ३ जना र बुधबार होम क्वारेन्टाइनमा रहेका १४ जनाको अवधि पूरा गरेका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई गाउँपालिकाले खाना, बस्न र औषधि उपचारमा सहयोग गरेको बताउँदै ओझाले भने, “गाउँपालिका प्रवेशमा रोक लगाएसँगै कोरोनाको जोखिम कम भएको गाउँवासीले महसुस गरेका हुन् ।” गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहनेमध्ये पाँच महिलासहित दुई बालबालिका रहेको जानकारी दिँदै अध्यक्ष ओझाले यतिखेर भने गाउँवासीले सामान्य महसुस गर्दै उत्पादनसँग जोडिन थालेका छन् ।

गाउँपालिकावासीका लागि आवश्यक औषधि र खाद्यान्न मौज्दात रहेको बताउँदै अध्यक्ष ओझाले थप उपभोग्य वस्तु आपूर्तिका लागि पालिकाको सवारी साधन प्रयोग गरी उच्च सुरक्षाका साथ आपूर्ति व्यवस्था मिलाइएको छ । रुपा गाउँपालिका वडा नं ७ का स्थानीय बासिन्दा एवं सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण मुलुक अप्ठ्यारोमा परे पनि यतिखेर गाउँ भने भरिभराउ भएको छ ।

प्रत्येक वर्ष प्रायःजसो दशैँ, तिहारजस्ता चाडपर्वमा भरिने गाउँ कोरोनाका कारण भरिएको उल्लेख गर्दै उनले भने , “अब स्वदेशमा बस्ने र विदेशबाट फर्केकाहरु गाउँमा बाँझिएको जमिनमा रगत र पसिना भिजाउनतर्फ लाग्नुपर्ने यस घटनाले पाठ सिकाएको छ ।” पोखरा बजारसँगै आसपासबाट गाउँ प्रवेश गर्ने व्यक्तिबाट कोरोना भाइरस फैलिने खतरा बढेको कारण चैत महिनाको २० गतेदेखि गाउँपालिका प्रवेशमा निषेध गरिएको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार पालिका प्रवेश गर्ने विभिन्न नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित दुई कोरोनाविरुद्ध परिचालित स्वयंसेवक २४सै घण्टा खटाइएको छ । प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

गाउँपालिका प्रवेशको मुख्य नाका खोलाको छेउ, पुलचोक, तालबेँसी, पोल्याङ, देउराली फेदी, रामदी, ताकाङजा, पिप्ले र काउरे नाकामा बुधबार साँझदेखि सूचना टाँस गरेर आवतजावत बन्द गरिएका कारण हालसम्म उक्त नाकाबाट कोही पनि गाउँ प्रवेश नगरेको कारण क्वारेन्टाइन खाली भएको उनको भनाइ छ ।

मुलुकभरि लकडाउनका कारण विदेशबाट आउने क्रम रोकिएसँगै कास्की जिल्लाका पोखरा महानगरपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा स्थापना गरी सञ्चालनमा आएका क्वारेन्टाइन क्रमिकरूपले खाली हुँदै गएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button