विवाह एक सम्झौता

खै, किन किन आज धेरै समय पछि पुनः यो दिल कलम बनेको छ । तिमी र तिम्रा यादहरु शब्द बनेका छन् । म मसि भएकी छु । र, पोखिएकीछु यि कागजका पन्नाहरुमा । केवल तिमी बनेर । शब्दहरु पनि त नियति रहेछन् तिम्रो र मेरो विगत जस्तो । शब्दहरुको पनि त भाग्य हुँदो रहेछ तिम्रो र मेरो सम्बन्ध जस्तो । अनि शब्दहरु पनि त देह र आत्मा जस्तै रहेछन्, शब्दहरुमा पनि त प्राण हुँदो रहेछ, आयु हुँदो रहेछ, तिम्रो र मेरो माया जस्तो । जस्तो प्राण त्यागेर मात्र शरीर ढल्छ अनि आत्मा सदा जीवित रहन्छ । सायद यस्तै बनेको छ हाम्रो माया पनि । प्राण त्यागेर शरीर जस्तै डंरङ्ग ढलेको हाम्रो सम्बन्ध अनि आत्मा जस्तै सदैव जीवित हाम्रो माया ।

जून छुन टक्कर दिने खालका यि गगनचुम्बी महलहरुको सातौं तलामा, रातको दुई तीन प्रहर बितीसक्दा पनि जीउँदो छु त केवल म मात्र जीउँदो छु हाम्रो माया जस्तै । अनि तिमी छौ मेरो ‘कलममा’ र म तिमीलाई नै स्पर्श गरेर ‘पानीको फोका जस्तै बनेको’ हाम्रो सम्बन्धको आयु लेखी रहेकिछु । कस्तो बिडम्बना हगी ? जुन सम्बन्ध मरि सक्यो म त्यसैमा जीवित छु । अनि जुन नयाँ सम्बन्धमा म जोडिएँ, त्यसमा मलाई घुटन भईरहेछ । त्यसैले कहिलेकाँही विवाह भन्नु पनि त हत्या रहेछ । कुनै सम्बन्धको हत्या र अपराध रहेछ आफ्नै मन र मस्तिष्कको ।

काश ! तिमीले र मैले संगै सजाएका सपनाको महलहरु पनि यि शहरका महल झैं अग्ला हुन्थे भने, यि महल जस्तै मजबूत हुन्थे भने, म पनि त त्यो सपनाको महल भित्र तिम्रो दिलको सातौं तलामा सायद तिमी संग रातको दुई प्रहर सम्म चलिरहेकी हुन्थेँ । खेलीरहेकी हुन्थेँ । या त सुतिरहेकी हुन्थेँ, तिम्रो बाहुमा आफूलाई सुरक्षित महसूस गरेर । “यि सपनाहरु केवल सपनामा मात्र सिमीत रहे, जुन थियो छ र यसैगरी जीवन्त हुने नै छ ।”

विवाह एक यस्तो शब्द जसले परिवार र समाजको सम्बन्ध निर्धारण गर्छ । नवीन सम्बन्धको सुरुवात गर्छ अनि नयाँ सृष्टिको आरम्भसँगै मूल्य मान्यता र आचारसंहिता सिकाउँछ । जीवनलाई जीवन बनाउछ, संसारलाई संसारको सार दिलाउँछ । यही विवाह नै त मानवजातिको स्थायित्व कायम राख्ने प्रमुख साधना रहेछ । यसैले त तिमी ‘तिमी’ बनेर जन्मियौ, म ‘म’ बनेर जन्मिएंँ । त्यसैले त भेट हुने अवसर पाएँ तिमीसंग । तर, ति अवसरहरु विवाहमा परिणत हुन सकेनन् । सबै नदीको भाग्यमा सागरको गन्तव्य कहाँ लेखेको हुँदो रहेछ र ? चाहेर, नचाहेर कहिले नहर बनेर, कहिले कुलो बनेर मोडीनु पर्ने रहेछ गरा बारी र कान्लाहरुमा । यसै गरि मोडियो हाम्रो सम्बन्ध पनि ‘विवाह’ बनेर ।

यसरी मोडिएको सम्बन्ध, ‘विवाहको’ अर्को नाम ‘बाध्यता’ पनि त रहेछ । एक यस्तो बाध्यता जुन नचाहेरै स्वीकार गर्नु पर्ने । एक यस्तो सम्बन्ध जुन नचाहेरै जोडीनु पर्ने । साहुले थमाई दिएको ऋणको कागज जस्तो, शिर झुकाएरै हात थापिरहनु पर्ने । सपना रहर बाध्यताको भिसा नलागेर फर्किएको पासपोर्ट जस्तो । रक्त क्यान्सरको रिपोर्टले भरिएको कागज जस्तो नचाहेरै हात थाप्नु पर्ने ।

विवाह सम्बन्ध जोड्नु मात्र पनि त कहाँ रहेछ र ? जस्तो गर्धन काट्नकै लागी बोकालाई मन्छाएर ‘प्राण’ हरणको लागी अनुमति मागीन्छ, अनि बोकाले निरीह बनेर टाउको हल्लाएर ‘नकाट्ने अनुनय’ गर्छ तर मान्छेले गलत बुझ्छ र ‘च्वाट्ट ठुन्क्याउछ’ । कुछ यस्तै भएको छ म सँग पनि । म निरीह बनेर ‘टाउको’ हल्लाएर ‘अस्वीकार’ गर्दै रहेँ । अनि ‘वलीको निमुखा प्राणी’ जस्तै काटिँदै पनि गएँ ‘विवाह’ बनेर । कहीले काँही लाग्छ, “विवाह भन्नु पनि त बली रहेछ, भोग रहेछ, जहाँ आफ्ना इच्छा र चाहानाहरु नचाहँदा नचाहँदै पनि निरीह बनेर रेटिँदोरहेछ ।”

एक धर्को सिंउदोले तय गर्ने विवाहको सम्बन्धले सबै सबैको ‘मनको सम्बन्ध’ तय गर्न पनि त नसक्दो रहेछ । यसैले लाग्छ विवाहको अर्कोनाम ‘सम्झौता’ पनि हो । “एक यस्तो सम्झौता, जहाँ नारीले बाबा आमाको काख, जन्मघरको आँगन र अनगिन्ती रहर र आकंक्षाहरु त्यागेर सम्झौता गर्नु पर्ने ।” विवाह गर्न त मन र मनका चाहानाको कुनै ‘महत्व’ नहुँदो रहेछ । हुन्छ त केवल ‘हिम्मतको महत्व’ हुने रहेछ । “एक यस्तो हिम्मत विवाह सँगै छुट्दै गरेका तमाम सम्बन्धहरु भुलाउन सक्ने हिम्मत । बिल्कुल अपरिचित वातावरणमा आफूलाई समायोजन गराउन सक्ने हिम्मत । कहिले तन लुटाएर मन जोड्न र कहिले मन लुटाएर तन जोड्न सक्ने हिम्मत ।” तर मैले भने न त सम्बन्धहरु भुलाउन सकेँ न त सुरुवात गर्न नै ।

‘सिंउदोको सिन्दूर’ हेर्छु जुन ‘तिम्रो नामको’ हैन । मैले जस्लाई सिन्दूरको ‘हक’ दिएकी थिएँ त्यो तिमी थियौ । तर जो सिन्दूर लिएर मेरो ‘जीवनको सुहाग’ बनेर आयो त्यो तिमी थिएनौ । एक तिमीलाई सम्झिन्छु, सिन्दूर र सुहाग बिर्सन्छु, सिन्दूर र सुहाग सम्झिन्छु त तिमीलाई झनै सम्झिन्छु। अनि तिमीलाई भुलाउन जबरजस्ती आफूलाई सिन्दूर र सुहाग प्रति समर्पित गर्छु । “यसरी जबरजस्ती भुलाउनु पनि त निरन्तर याद गर्नु न रहेछ । अटुट याद गर्नु रहेछ । त्सैले कुनै सिँउदोहरु नसजिएरै मनमनले बिधवा हुँदा रहेछन् ।”

यो दिलको कलम न हो, तिमी बसेको दिलको कलम, तिमीले राज गरेको दिलको कलम । त्यसैले जति नै लेखेपनि थाक्दैनन् कलमहरु थाक्छन् त यि चिसा रातहरु थाक्छन् । ननिदाएका यि आँखाहरु थाक्छन् । तिमीले नथामेर अरु कसैले थामेका यि हातहरु थाक्छन् । बर्षौंदेखी तिम्रो नामहरु उच्चारण नगरेका मेरा आवाजहरु थाक्छन् । मन त कहाँ थाक्छ र ? यो मन त सधैं तिम्रै न हो । सबै सुतेपछी चिसा रातहरुमा छतमा उक्लिएर, पुरै शहरको मौनता ओढेर तिमी र सासै सासमा, जून हेर्दै फोनमा बोल्दै गरेका रात, अझै पनि त हिजो अस्ति जस्तै लाग्छ । बिदामा म घर फर्किंदा होस् या मन्दिर जाँदा होस् तिमीले दिएको साथ र हात उतिकै प्यारो लाग्छ आज पनि ।

समाज परिवार र संस्कारले निर्धारण गरेको निश्चित दायरालाई परै पन्छाएर, हामी आफ्नै संसारमा यात्रा गर्दै गर्दा, आकासमा उडेकाप्रेमिल जोडी ढुकुरहरु बाज संग जम्का भेट भए जस्तै हामी पनि त कति पटक जम्का भेट भएका थियौं । कहिले समाज संग त कहिले आफन्तसँग ।

तिम्रो नामको एक ‘अक्षर र मेरो नामको एक ‘अक्षरको’ समिश्रणबाट तिमीले मलाई दिएको त्यो ‘नाम’ आज अझै पनि मलाई कति ‘प्यारो’ लाग्छ । मेरा ‘संजालका भित्ताहरुमा’ त्यही नाम नै त मेरो ‘पहिचान’ बनेको छ । कसैको ‘सिन्दूरले बिटुलिएकी’ म त्यही एउटा नाम मात्र न छ मलाई चोख्याउने । त्यही एउटा नाम न हो मैले तिमीबाट उपहारमा पाएको । त्यही दुई ‘अक्षरको’ नाम आधा ‘तिमी’ समेटिएको आधा ‘म’ समेटिएको त्यही एउटा नाम ।

सम्बन्ध बदलिए जस्तै सजिलो पनि त रहेनछ मन बदलिन । भाग्यले बाटो मोडे जस्तै सजिलो पनि त रहेनछ मन मोडीन । बितेका दिनसँगै, हप्ता र महिना हुँदै समयले पात्रो पल्टाउदै गएको पनि त तीन बर्ष भै सकेछ । कुनै बेला तिमी बिनाको पल ‘पल’ लाग्दैनथ्यो । तिम्रो ‘आवाज’ बिना मेरो ‘सूर्य’ उदाउदैनथ्यो । तिमी नै मेरो दिन थियौ तिमी नै त मेरो ‘बिकल्प’ थियौ । तिमी नै मेरो आधार थियौ रहर थियौ र ‘आवश्यकता’ थियौ ।

अहिले परिवेश बदलिएको छ, समय अनुरुप बदलिनु पनि त पर्दो रहेछ । कुनै बेला छत माथीबाट ‘आकाशको जून र तारा’ चिहाएर ‘आकाशमा जून र तारा’ रहुन्जेल संगै ‘मर्ने र बाँच्ने कसम’ खाएकी म आज त्यही ‘जून र तारा’ हेरेर आफ्नो सुहाग संग, सिन्दूर संग, जुगौंजुग संगै ‘जीउने र मर्ने’ कसम खाईरहेकी छु ।

“कुनै बेला तिमीलाई संझनु मात्र विकल्प भएकी म अहिले तिमीलाई यथाशक्य भुलाउनु पर्ने विकल्प बनेको छ ।” समयले र बाध्यतालेयही नै ‘आवश्यक’ ठानेको छ । त्यसैले उ बेलाको मेरो ‘आधार र रहरहरुको’ आवश्यकता तिमी, आज तिमीलाई ‘भुलाउनु नै आवश्यकताबनेको छ । “म हारेकी छु, दुनियाँले जितेको छ, मेरो अन्तर मनको अमूर्त प्रेम मन भित्रै ‘शहीद’ भएको छ ।”

आजकल तिमी पनि त जिद्दी भएका छौ, भनेकै नमान्ने म जस्तै जिद्दी । हुनत तिम्रो र मेरो ‘संगत’ नै त्यस्तै थियो, सम्बन्ध नै त्यस्तै थियो । विगत पल्टाउने हो भने काफी लामो समय बिताएका थियौं कहिले ‘तिमी म’ बनेर त कहिले ‘म तिमी’ बनेर । त्यसैले त्यही संगतको असर होला क्यार मेरो संगतले तिमी पनि जिद्दी भएछौ ।

मलाई थाहा छ तिम्रो छातीका भित्ता देखि घरका भित्ता सम्म मेरा तस्बिरहरु, उपहारहरु, आज यतिका दिन बिती सक्दा पनि यथावत छन् । “कसैको ‘सिन्दूरमा सजिएकी’ म अनि तिम्रा घरका भित्ताहरुमा सजिएका मेरा ‘तस्बिरहरु’ । दैवको कलमले लेख्न नसकेको हामी दुईकोभाग्य अनि अल्प आयुमै दिवंगत भएको हाम्रो सम्बन्ध । अब भन म कसरी मेरा तस्बिरहरु तिम्रा घरका भित्ताहरुमा सजाउ भन्न सक्छु ।”

मलाई यो पनि थाहा छ समयले दिएको घाउ भोली समयनै मलम लिएर आउने छ । समयले खिचाएको तस्बिर काट्न समयले नै कैंचि लिएर आउने छ । जसरी मेरो जीवनमा आएको थियो ‘विवाह’ कैंचि बनेर । समाज र परिवारको ‘सिंन्दूर जोगाउन’ बाध्य भएर मैले तिम्रा फोटाहरु नस्ट गरेकी थिएँ, त्यसै गरि तिम्रो जीवनमा पनि त्यो समय आउने छ ‘विवाह’ बनेर ‘कैंचि’ बनेर । तब मेरा तस्बिरहरु भित्ता देखि अलग्गिने छन्, जसरी मैले अलग्याएकी थिएँ । सन्दुकबाट झिकिएर रछ्यानमा पुग्नेछन, जसरी मैले पुर्याएकी थिएँ । अनि मेरो मनको राजकुमार तिमी पनि दुलाहा बन्ने छौ, मेरो हैन अरु कसैको जसरी म भएकी थिएँ । सिंन्दूरको रंग सजाउने छौ, मेरो हैन अरु कसैको जसरीम सजिएकी थिएँ । दुलही अन्माउने छौ तर म हैन अरु कोही जसरी म अन्मिएकी थिएँ ।

थाहा छैन त्यस दिन तिमी रुन्छौ या रुँदैनौ तर म भने अरु कसैको बनेर अन्मिदा पनि रोएँ । तिम्रो बनेर नअन्मिदा पनि रोएँ । सायद तिम्रोमा अरु कोही अन्मिदा पनि यसै गरी रुनेछु । “यसैले लाग्छ विवाह भन्नु पनि जीवन भर रुनकै लागी गरिने सम्झौता रहेछ।” मात्र सम्झौता……

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button