पोखराका अधिकांश होटल खाली, व्यवसायीलाई खर्च व्यवस्थापन गर्न समस्या

पोखरा। विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण पर्यटकीय नगरी पोखराका होटल तथा रिर्सोटमा पाहुना छैनन् । अधिकांश होटल पूर्ण रुपमा सुनसान छन् । बन्द अवस्थामा छन् । केहि होटल कर्मचारी र बाँकी रहेका १, २ जना गेष्टका कारण आंशिक खुल्ला छन् । अघिल्लो वर्ष यो समयमा होटलको अकुपेन्सी ७० प्रतिशत भन्दा बढी थियो । पश्चिमाञ्चल होटल संघ पोखराका अनुसार संघमा आवद्ध साना, मझौला तथा तारे होटल गरी ४ सय पर्यटक स्तरिय होटल सञ्चालनमा छन् । अहिले पोखरामा लगभग ३ सय विदेशी पर्यटक छन् । त्यसमा करिब २ सय जना नेपालमा अझै केहि समय बस्ने खालका छन् । अरु फर्किने तयारीमा छन् ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन भन्छन् –‘अघिल्लो वर्ष यतिखेर होटलको अकुपेन्सि ७० प्रतिशत भन्दा बढी पूग्थ्यो । अहिले लकडाउन खुलि हालेपछि पनि घुम्न हिडि हाल्ने अवस्था पनि छैन । मानिसलार्ई एक खालको डर पनि छ । तत्काल घुम्न खोज्ने छैनन् । आम्दानीमा आएको ह्रासको कारण आर्थिक मन्दी पनि हुन्छ । नेपालमा मात्र नभएर विदेशमा पनि उद्योगधन्दा कलकारखानाहरु बन्द छन् । त्यो पुर्ववत अवस्थामा फर्कन समय लाग्छ । धेरै जना कामबाट पनि वञ्चित भएका छन् । यी सबै कुरा मिल्न ६ महिनादेखि १ वर्षसम्म लाग्छ । होटलमा लगानी ठुलो छ ।

सशस्त्र द्धन्द भन्दापनि ठुलो अप्रत्यासित रुपमा कसैले कल्पना नगरेको कुरा भयो । आर्थिक रुपमा यस्तो होला भन्ने थिएन । विश्वमानै आर्थिक मन्दी केहि समय होला । नेपाल पनि अछुतो रहन सक्दैन । ठुला लगानी, विभिन्न वित्तिय संस्थाबाट लोन लिएर गरेका छन् । यसको लागि नेपाल सरकारबाट केहि हुनुपर्ने हो । पहिलो चरणको आयो चैत्रको भाका असारमा तिर्ने भनेर । तर त्यसले मात्र हुँदैन । तिर्ने स्थिती असारमा पनि नहुनसक्छ । असारमा तिर्ने दवाव धान्न सक्दैनन् । असारबाट झनै अफसिजन सुरु हुन्छ । असौज कार्तिकमा पनि चल्छ की चल्दैन अहिल्यै भन्न सक्ने अवस्थानै छैन।’

पश्चिमाञ्चल होटल संघमा आवद्ध नभएकासानो ठुलो गरी थप दूई सय ५० होटल पोखरा आसपासमा सञ्चालनमा छन् । त्यसमा ५० देखि एक सय सम्म आधिकारीक रुपमा दर्ता गरेरै चलाएका छन् । केहि पारिवारिक रुपमा चलाएका पनि छन् । तीनीहरुकौ अवस्था पनि उस्तै छ । लकडाउन सुरु भए पश्चात पोखराका होटल व्यवसायी र पोखरा पर्यटन परिषदको पहलमा पोखरामा भएका र पदमार्ग तिर रोकिएका पर्यटकलाई बाहिर पठाइएको थियो । अझैपनि केहि पर्यटक मनाङमा छन् । हामी सुरक्षित अवस्थामा छौ । हामी यहि बस्छौ भनेर उनीहरु तहाँ बसेको गण्डकी प्रदेशका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले जनाए ।

पोखराको अम्मरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेशनलका सञ्चालक मिन बहादुर गुरुङ लकडाउनको अघिल्लो दिनबाटनै होटल पुरै खाली भएको बताउँछन् ।  अहिले पुरै खाली छ, सबै विश्वनै तहसनहस भयो । भिजिट नेपाल २०२०को तयारीमा लगानी गरेका थियौ । गाह्रो भएको छ । नर्मल स्थितीमा आउन समय लाग्छ, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा सम्म सहज होला की’ उनको आशा छ । नेपाली नयाँवर्ष तथा विद्यालयको भ्याकेसन हुने समय भएकोले यो समयमा व्यवसाय राम्रो हुने अपेक्षा व्यवसायीको थियो । आफ्नै जग्गा र भवन हुनेलाई केहि सहज भएपनि घरभाडादेखि सबै खर्चको व्यवस्थापन यही व्यवसायबाटै गर्नेलाई समस्या हुन थालेको छ ।

लेकसाइडमा रहेको होटल कुमारी स्टार ईनका सञ्चालक युवा व्यवसायी महेन्द्र गुरुङ पनि आफ्नो होटल पुरै खाली भएको बताउँछन् । उनी भन्छन्–‘एक्कासी भएको लकडाउनका कारण टाढाका कर्मचारीलाई घरमा पठाउन सकिएन । अहिलेसम्मत मजदुरलाई जसोतसो पालेको छु । बैकको ऋणको त टाढाको कुरा मजदुरलाई बिहान बेलुकाको जोहो गर्न मुस्किल हुन थालिसक्यो ।’

लेकसाइडमा रहेको होटल क्राउन हिमालयजका सञ्चालक आग्रह अर्याल आफ्नो होटलमा लकडाउन भएको दिनबाट गेष्ट नभएको बताउँछन् । ‘गेष्ट छैनन्, खाली भएको लकडाउन सुरु हुँदाबाट हो । गाह्रो भएको छ । कति समय लम्बिन्छ भन्ने कुरा हो । कर्मचारीलाई पारिश्रमीक दिन समस्या हुन्छ’ उनले भने ।

गौरीघाटमा रहेको होटल रानीबन आर्किडका सञ्चालक हरि भुजेल होटल क्षेत्रमा ठुलो असर परेको बताउँछन् । होटल सबै बन्द छ, असर ठुलै परेको छ, स्टाफ सबै घरमा गइसके’उनले भने ।  बाराहिचोकमा रहेको होटल स्नोल्याण्डका सञ्चालक गणेश बहादुर थापाले होटलमा गेष्ट नभएको र अब के गर्ने भन्नेमा चिन्तित भएको बताउँछन् । ‘गेष्ट छैनन, होटल कुर्ने बस्ने भएको छ, अब के गर्ने चिन्ता बढ्यो’ उनले भने । लेकसाइडमा रहेको अथिति रिर्सोट एण्ड स्पाःका मेनेजर गणेश ढकालले रिर्सोट पूर्णरुपमा खाली रहेको बताए । ‘महामारीका कारण पर्यटन उद्योग २, ३ वर्ष खत्तम होला जस्तो छ । तत्काल सरकारको राहात प्याकेज केहि घोषणा भए केहि राम्रो हुने थियो’उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button