बिक्री नभएपछि सडकमा दूध पोख्दै किसान

भेषराज बस्नेत । बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् ।

कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोखेका छन् । दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताए ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् । दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ ।

बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हुँदै गएको डुडुवा गाउँपालिका –२ बेतहनीका किसान रामसोहन यादव बताउछन । गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभका कारण पोखेर घर फर्केका  उनको गुनासो छ ।

ठूलो परिमाणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) को कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध सङ्कलनमा ५० प्रतिशत कटौती गरेको छ । आयोजनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि त्यसलाई घटाएर दैनिक ६ हजार लिटर सङ्कलन गर्ने गरिएको आयोजनाका प्रमुख योगेन्द्र साहले बताए । उनका अनुसार, दैनिक सङ्कलन हुने १३ हजार लिटर दूधमध्ये एक हजार टिर बाँकेमा खपत गरी बाँकी १२ हजार लिटर पाउडर प्रशोधनका लागि चितवन र पोखरा पठाइन्छ । कोरोनाका कारण अहिले ५० प्रतिशत मात्रै दूध लिने गरेकाले दूध सङ्कलनमा पनि कटौती गर्नुपरेको हो ।

पोखरा आउने दूधमा ५० प्रतिशत कमी भएसँगै बाँकेमा किसानबाट दूध सङ्कलनमा पनि कमी गरिएको आयोजना प्रमुख साहले बताए । ‘लकडाउनको शुरुमा एक हप्ता त होलिडे नै भयो, अहिले त्यस्तो छैन । सबै किसानको दूध खरीद गर्न सकेका छैनौँ, जसले फोन गर्छ, समस्या छ, उसको लिएका छौँ । आफैँ व्यवस्थापन गरिरहेका किसानको खोजिनिती गरेका छैनौँ’,उनले भने । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button