कोरोना कहरबीच सुरक्षित मातृत्व

प्रबिन शर्मा । सन् २०१९ को लगभग अन्तिमतिर एउटा यस्तो भाइरसको नाम सुनियो जसले आज पुरा विश्वलाई तरंगित बनाई दिएको छ र विश्वका महाशक्तिशाली होस् या कमजोर कहलिएका राष्ट्र हुन् आज सबै सोही भाइरससँगको लडाई जित्न हरेक प्रयास अपनाउदै छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले महामारीको रुपमा विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएको यो महामारी रोगमे अहिले यसले नेपाललगायत विश्वका महाशक्ति राष्ट्रलाई समेत ठूलो चुनौती दिएको छ ।

कोरोना कहरका बीचमा महिला स्वास्थ्यको एउटा उल्लेख्य पाटो “सुरक्षित मातृत्व” लाई सम्बोधन गर्न भने देशमा होस् वा विदेशमा खासै पहल भएको देखिदैन । फलस्वरुप कतै गर्भवती नर्सको कोरोनाका कारण मृत्यु भएको समाचार आइरहेको छ भने कतै नाबालकमा पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य संयन्त्र कोरोना महामारी कै आसपास खटिँदा सुरक्षित मातृत्वलगायतका विषय भने केही ओझेलमा परेको देख्न सकिन्छ । अझ कोरोना महामारीबीच अस्पतालहरु नै बन्द हुँदा अन्य सामान्य स्वास्थ्य समस्या पनि गम्भीर बन्न पुगेको उदाहरण देख्न सकिन्छ । लकडाउनका कारण सार्वजनिक सवारीसाधन बन्द हुँदा गर्भवती तथा सुत्केरी महिलालाई नियमित स्वास्थ्य चेकजाँचका लागि अस्पताल पुग्न सकस पुगेको छ भने कतै स्वास्थ्यकर्मीको अभावमा प्रसवकालीन स्वास्थ्य समस्यासमेत उत्पन्न हुन पुगेको छ ।

बन्दाबन्दी अनि अबरोध गरिएका बाटो हुँदै लामो यात्रा गरेर स्वास्थ्य संस्था पुग्दा पनि स्वास्थ्य सेवा प्रदायक उपचार गर्न तयार हुन्छन् या हुदैनन्? गर्भावस्थामा केहि स्थिति अधिक गम्भीर हुन सक्छ र यसलाई तत्काल रेफरलको पनि आवश्यक पर्न सक्छ तर धेरै स्थानहरूमा समुदायका मानिसहरूले सडकहरू र नाकाहरुमा बाँस, ठुला रूखका मुढाहरू, ठूला ढुंगाहरु राख्दै बाटो अबरोध गरेका छन् । झोलुंगे पुलका विभिन्न जडान गरिएको भागहरु निकालेर आवत जावत ठप्प पारिएको छ । अझ जोखिम समूहहरूमध्ये, धेरै संख्यामा गर्भवती र स्तनपान गराउने महिलाहरू नेपालमा दुर्गम भौगोलिक बनावट क्षेत्रमा बसिरहेका छन् । यस्ता अनगिन्ती समस्याबीच नेपाल सरकारको “राष्ट्रिय सुरक्षित मातृत्व कार्यक्रम” तथा ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ जस्ता प्रावधानहरु प्रभावकारी बन्न सक्छन् त ?

राष्ट्रिय सुरक्षित मातृत्व कार्यक्रमको लक्ष्य मातृ र नवजात शिशु मृत्युदर घटाउनु र मातृ र नवजात शिशुको स्वास्थ्य सुधार गर्नुका साथै गर्भावस्था, सुत्केरी गराउदा र बच्चाको जन्म पश्चातको अवधिमा मृत्यु हुने अयोग्य कारकहरुलाई सम्बोधन गर्नु हो। विभिन्न तथ्यांकहरूले पनि सुझाव दिन्छ कि “तीन ढिलाइहरू” मातृ र नवजात शिशु मृत्युदर पछाडिका महत्त्वपूर्ण कारकहरू हुन्। हामी कसरी यो लकडाउन स्थितिमा स्वस्थ गर्भावस्था र सुरक्षित मातृत्व कायम गर्न सक्छौं? यो अहिले नेपाली स्वास्थ्य क्षेत्रको गम्भीर स्वास्थ्य चुनौती हो।

सामान्यतया, गर्भवती महिलाहरूमा रोग संक्रमणको खतरा बढी हुन्छ | उनीहरूको शरीरमा शारीरिक र इम्युनोलोगिक परिवर्तनहरूको कारण गर्भवती महिलाहरूलाई एक जोखिम समूह मानिनु पर्छ । संयुक्त राष्ट्र संघले पनि यहि भन्छ कि कोभिड-१९ महामारीले महिलाको स्वास्थ्यमा ठूलो चुनौती दिन सक्छ । आपतकालीन अवस्थामा र ती महिलाहरू जसलाई तत्काल रिफर गर्नुपर्ने हुन्छ, यस कोरोनाभाइरस प्रकोपले सुरक्षित मातृत्व सेवामा पहुँच बढाउन गम्भीर रूपमा बाधा पुर्‍याउन सक्छ जब कि महिलालाई यी सेवाहरू सबैभन्दा बढी चाहिन्छ । जोखिम समूहहरूमध्ये, धेरै संख्यामा गर्भवती र स्तनपान गराउने महिलाहरू नेपालमा दुर्गम भौगोलिक बनावट क्षेत्रमा बसिरहेका छन् जसलाई गर्भवती हुँदा गरिने हेरचाह अनि स्वास्थ्य सेवा र बच्चाको जन्म पश्चात गरिने हेरचाह अनि स्वास्थ्य सेवा अति आवश्यक छ तर यो बेला स्वास्थ्य संस्थामा जान हुने वा नहुने कुरामा नै अझै उनीहरु जानकार छैनन् ।

यी यावत् सम्भाव्य अवरोध बाहेक पनि सुरक्षित मातृत्वका लागि सबैभन्दा महत्वपूर्ण अन्य व्यवहारिक समस्या पनि रहेका छन् । जस्तै कोरोना महामारीबीच सुरक्षित मातृत्वको हकमा सबैभन्दा महत्त्वपूर्ण याद राख्नुपर्ने कुरा भनेको के हो त भन्दा गर्भवती र सुत्केरी महिलाको हेरविचार कसले गर्दैछ त ? प्रसव वा नियमित चेकजाँचका समयमा उनीहरुलाई स्वास्थ्य सेवा सम्म ल्याउन कतिजना सहभागी थिए ? के उनीहरु कोरोनाभाइरसको संक्रमण देखि सुरक्षित छन् ? हाम्रो नेपाली समुदायको अभ्यासमा सामान्यतया न्यूनतम ५-६ जना मानिसहरू नियमित रूपमा गर्भवती र स्तनपान गराउने महिलाको नजिकको सम्पर्कमा हुन्छन्। त्यसैले जानाजानी वा अन्जानमा फेरि उनी संक्रमणको उच्च जोखिममा हुन्छन, जुन हाम्रो जस्तो समाजमा सधैं बेवास्ता गरिन्छ।

अर्कोतर्फ हाम्रो सामाजिक परम्परा हेर्ने हो भने, धेरै मानिसहरू गर्भवती र सुत्केरी महिलालाई खुशी अनि रमाइलोको नाममा घरमा भेट्न आउँछन् किनकि हामी यस अवस्थालाई परिवार र समाजमा खुशीको क्षणको रूपमा लिन्छौं । मानिसहरूले कोरोना संक्रमण भयानक हुँदै आएको वर्तमान परिप्रेक्षमा पनि गर्भवती महिलाहरू, स्तनपान गराउने आमा र नवजात शिशुसँग नजिकको सम्पर्क राख्दै भेट्ने क्रममा सामान्य स्वास्थ्य प्रोटोकलसमेत बिर्सन पुग्छन् ।

त्यस्तै गर्भवती महिलाहरू, स्तनपान गराउने आमा र नवजात शिशुसँग नजिकको सम्पर्क राख्दै गर्दा के उनीहरूले आफ्नो हातहरू साबुनपानीले धुन्छन् त ? अनि के उनीहरुले उचित सामाजिक दुरी कायम गर्छन् ? यसले गर्दा गर्भवती, स्तनपान गराउने आमा र नवजात शिशु लगायत कोरोनाभाइरसको संक्रमणको उच्च जोखिममा हुन सक्छन् किनभने उनीहरू नजानिँदो तरिकाले उचित सामाजिक दूरी कायम गर्न असफल हुने गर्छन् ।

यस सन्दर्भलाई अर्को पक्षबाट पनि हेर्नुपर्दछ। यदि सबै व्यक्ति लकडाउनको अनुसरण/पालना गरेर आफ्नै घरमा बस्छन् भने के हुन्छ ? गर्भवती महिला, स्तनपान गराउने आमा र नवजात शिशुको हेरचाह कसले गर्छ ? त्यसकारण यो समयमा परिवारको सदस्यहरूको जिम्मेवारी के हो भने सामाजिक दुरी लगायतका स्वास्थ्य सतर्कता पालना गर्दै उनीहरूको उचित हेरचाह गर्ने र दुर्भाग्यवश संक्रमण देखा परिहाल्यो भने पनि स्वास्थ्यकर्मीसँग उचित समन्वय गरि आइसोलेसनलगायत थप स्वास्थ्य सेवा लिनुपर्नेछ । त्यस्तै समाजका जिम्मेवार सरोकारवालाहरू पनि सम्पुर्ण परिवारलाई मनोवैज्ञानिक परामर्श तथा अन्य किसिमको सक्दो सहयोग गर्नुपर्दछ। यसरी सुरक्षित मातृत्वका लागि सबैले सावधानीहरू अपनाउदै आफ्नो कर्तव्य पनि पुरा गर्नुपर्छ र कोरोनाबाट आफु बच्दै अरुलाई पनि बचाउन पर्दछ।

त्यस्तै गरी, गर्भावस्था र स्तनपान गराउने समयमा आमा र बच्चा दुबैको राम्रो स्वास्थ्यको लागि अधिक पौष्टिक खाना चाहिन्छ। लकडाउन अवधि बिभिन्न चरणमा बढ्दै जाने क्रममा धेरै गर्भवती र स्तनपान गराउने महिलाहरूले पौष्टिक खानामा सहज पहुँच पाउन सक्दैनन् जुन फेरि आमा र बच्चाको स्वास्थ्यको लागि एक चुनौती हो। त्यसैले स्थानीय सरकारको जिम्मेवारी यो पनि छ कि त्यस्ता परिवारहरूको उचित पहिचान गर्ने र उनीहरूलाई सकेसम्म चाँडो विशेष प्याकेजहरू साथ सहयोग गर्ने।

यस महामारीको सन्दर्भमा, हामी सबै भविष्यमा उत्पन्न हुनसक्ने आपतकालीन अवस्थाका लागि तयार हुनुपर्दछ, जुन अझै अनिश्चित छ। सबै गर्भवती र स्तनपान गराउने महिलाहरूको पनि अरु सामान्य मानिसको जस्तै स्वास्थ्य अधिकार छ जुन बच्चा जन्माउनु भन्दा पहिले, बच्चा जन्माउँदा र बच्चा जन्मे पछाडि पनि सुनिश्चित गराउने सरकारको जिम्मेवारी हो र सबैले यसमा हातेमालो गर्न जरुरि छ। यसमा कसैलाई कोरोनाको शंका वा पुष्टि गरिएको छ भने समुदायका मानिसहरू, सबै सरोकारवालाहरू र स्वास्थ्यकर्मीहरूले आफैंलाई र अन्यलाई संक्रमणको जोखिम कम गर्न सबै उचित सावधानी अपनाउनुपर्दछ, हातको स्वच्छता सहित, ग्लोभ्स, गाउन र मेडिकल मास्क जस्ता सुरक्षा कवजको उचित प्रयोग गर्नु पर्दछ।

अन्तमा सबै गर्भवती महिला र स्तनपान गराउने आमाले कोरोना संक्रमणबाट बच्न अन्य व्यक्तिहरूको जस्तो समान सतर्कता अपनाउनु जरुरि पर्दछ र स्रोतहरूको सहि उपयोग गरि उनीहरुको स्वास्थ्य अधिकारको पूर्ण जिम्मा सरकारले लिन आवश्यक छ । र गर्भवती महिला र स्तनपान गराउने आमाले निम्न लिखित कुरामा ध्यान दिन आबस्यक छ:

• रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
• नियमित साबुन पानीले हात धुने,
• खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
• अनावश्यक रूपमा आफ्नै र बच्चाको आँखा, नाक र मुख नछुने,
• जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने,
• अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने,
• फ्लुको जस्तो लक्षण देखिए ज्वरो, खोकी वा सास फेर्न गाह्रो हुँदा स्वास्थ्य संस्था गइहाल्ने, ( स्वास्थ्य संस्था जानु भन्दा पहिले सम्पर्क गर्नुहोस्, र तपाईंको स्थानीय स्वास्थ्य प्रणालीको निर्देशनहरू पालना गर्नुहोस्। )
• नवजात शिशुको उचित ख्याल राख्ने र अन्य मानिसहरूले अनावश्यक रूपमा बच्चालाई छुने अनुमति नदिने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button