किन एन्टीबडी पोजिटिभ देखिँदा पनि पिसिआर नेगेटिभ देखिन्छ त ?

विदुर रेग्मी । नेपालमा केही दिनयता कोरोना परीक्षणका लागि शुरु गरिएको र्यापिड डाइग्नोस्टिक टेष्ट” (आरडिटी) को नतिजा पोजिटिभ आउँदा पनि विस्तृत पोलिमरेज चेन रियाक्सन (पिसिआर) टेस्टमा भने कोरोना नदेखिएको थुप्रै उदाहरण देखिएका छन् । आखिर किन भयो त यस्तो ?
आरडिटीबाट तपाईंको शरीरमा कोरोनाको एन्टीबडी बनेको छ छैन भन्ने निर्क्योल हुन्छ अर्थात तपाईं कोरोना लागिसकेको अवस्थाको जानकारी यस परीक्षण दिन्छ । कोरोना भाइरसको परीक्षण गर्न गरिँदै आएको ”र्यापिड डाइग्नोस्टिक टेष्ट” बाट पोजेटिभ नतिजा आउने र पिसीआर बाट नेगेटिभ नतिजा आउदा के बुझ्न् सकिन्छ भने नेपालमा पनि कोरोनाविरुद्ध प्रतिरोधात्मक शक्ति भएका व्यक्ति ठाउँ ठाउँ मा छन् । तर यस्तो प्रतिरोधात्मक शक्ति कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि मात्र प्राप्त हुने हुँदा कोरोना संक्रमण भएका या कोरोनाका भाइरसहरुलाई आश्रय दिएका व्यक्तिहरु हाम्रो समुदायमा नै विगत केही समय देखि नै भएको पुष्टि हुन्छ । अर्थात हाम्रो समाजमा त्यस्ता व्यक्ति छन् जसले कोरोना भाइरसलाई परास्त गरिसकेका छन् तर उनीहरुले कोरोना भाइरस फैलाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

याद गर्नै पर्ने कुरा के छ भने जो व्यक्तिको ”र्यापिड डाइग्नोस्टिक टेष्ट” बाट पोजेटिभ र पिसीआर नेगेटिभ छ त्यस्ता हरेक व्यक्तिको सम्पर्कमा आएका प्रत्येक व्यक्तिको ट्र्याकिङ र ट्रेसिङ गरेर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ । त्यस्तै ”र्यापिड डाइग्नोस्टिक टेष्ट” नेगेटिभ आएमा पनि तपाईं आफैलाई शंका लाग्छ र तपाई जोखिम वर्गमा पर्नुहुन्छ हुन्छ भने थप क्वारेन्टिनमा बस्नु नै पर्ने हुन्छ किनकी तपाईंको शरीरमा कोरोना भाइरस छैन भन्ने पुष्टि चाहिँ यो टेस्ट ले गर्दैन या तपाईंको शरीरमा एन्टीबडी अर्थात प्रतिरोधात्मक शक्ति नबनिसकेको अवस्था पनि हुन सक्छ । यस्तो अवस्थामा पिसिआर परीक्षण गरेर मात्र निधो लिनुपर्ने हुन्छ ।

यदि तपाईंको दुवै परिक्षण नेगेटिभ आयो भने त्यस्ले हालसम्म तपाईंमा कोरोना संक्रमण नभएको पुष्टि गर्दछ र अब तपाईं झन सतर्क हुन आवश्यक छ र घरमै बस्नुपर्ने हुन्छ किनकी तपाईं घरमा नबसी बाहिर निस्कदा अन्य संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा कोरोना संक्रमण सर्ने जोखिम हुन्छ । हाल नेपालमा प्रायः हरेक शंकास्पद व्यक्ति प्रभावकारी रुपमा सेल्फ क्वारेन्टिनमा बसेको र लकडाउनको नियमपुर्वक पालना गरेकोले नै आजसम्म कोरोनाले महामारीको रुप लिन पाएको छैन ।

त्यसैले कोरोनालाई महामारीको रुप लिन नदिन हरेक नागरिक सचेत हुनु आवश्यक छ, हाम्रो सानो लापरबाहीले ठूलो दुर्घटना हुन सक्ने र सानो सहयोगले पनि ठूलो दुर्घटनाबाट जोगाउन सकिने हुँदा लकडाउन लगायतका सरकारले अनुरोध गरेका हरेक गतिविधिमा सकारात्मक रुपमा साथ र सहयोग गरौं । कोरोना संक्रमण नियन्त्रणको महान अभियानमा आफ्नो भुमिका निर्वाह गरौँ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button