बागलुङ र पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न

बलेवा । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण थालिएको नेपालकै सबैभन्दा लामोे झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । कोभिड–१९ कारण नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण अन्य विकास निर्माण कार्य ठप्प भएको सन्दर्भमा नेपालकै लामो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा देखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौँका अनुसार ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण कार्य सकिएको बताएको छ । लामो पुलको निर्माण कार्य सकिएर हस्तान्तरणको तयारीमा रहेको पुल निर्माणको जिम्मा पाएको थानी/बिएलटी/हिमशिखर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिध नरहरी खड्काले जानकारी दिए । “हामीले लकडाउनमा समेत पुल निर्माण गर्न रोकेनौँ”, खड्काले भने, “वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले हस्तान्तरण गर्ने कार्य स्थगन भएको छ ।” लकडाउ खुलेपछि हस्तान्तरण भएलगत्तै उक्त पुल सर्वसाधारणका लागि खुला गरिनेछ ।

खड्काका अनुसार झोलुङ्गे पुल खुल्ला प्रकृतिमा ५ सय ७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण सम्पन्न भएको हो । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भए तापनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो ।

विसं २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्गमाथिबाट लट्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङतर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो ।

विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको हो । पहिलो पटक निर्माण थालिएको नेपालकै लामो पुल निर्माणमा ठूलो चुनैती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीहरुमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाइ रहेको छ ।

नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौताभन्दा अगावै निर्माण कार्य सम्पन्न भएको छ । लट्ठा तान्नका लागि दुवै जिल्लातर्फ रहेका विद्युत्का तार व्यवस्थापन र मध्यपहाडी लोकमार्गको मालढुङ्गा–बागलुङ खण्ड एवं मालढुङ्गा–बेनी सडकमा सवारी आवतजावतमा कुनै समस्या नलिइकन सम्पन्न भएको खड्काले बताउनुभयो । पुलको लट्ठा तान्नका लागि निर्माण कम्पनीले उच्चस्तरको चिनियाँ प्रविधिको प्रयोग गरेको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो रहेको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल निर्माणसँगै पाङ पुग्न लाग्ने ४५ मिनेट १० मिनेटमा छोटिएको छ । विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लट्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा रु ४० लाखमा लट्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएपछि पुल निर्माण थालिएको थियो ।

अत्याधुनिक उपकरणबाट पुलका लट्ठा तानेको नेपालमा पहिलो पटक हो । सस्पेन्सन वृज डिभिजन कार्यालयले ४ सय  मिटरभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ । अहिलेसम्म नेपालमा सात हजार ५ सय भन्दा बढी झोलुङ्गे पुल रहेका छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लट्ठा र लट्ठा तान्ने मेशिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा सम्झौता भएको थियो । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button