लकडाउनमा असिनाले अन्नबाली सखाप, किसान भन्छन् “के खाएर बाँच्ने?”

धुर्वसागर शर्मा । लकडाउनको समयमा असिना पानीले म्याग्दीको पश्चिमी भेगका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ ।

हावाहुरी, पानी र ठूला–ठूला दानासहित परेको असिनाले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो । म्याग्दीको ज्यामरुककोट, भकिम्लीको तोराखेतलगायत क्षेत्रमा परेको असिना पानीले त्यस क्षेत्रका गहुँ, जौ र तरकारी बालीमा लाखौं रुपैयाँ मूल्य बराबरको क्षति पुर्याएको बेनी नगरपालिका- २ ज्यामरुककोटका डम्मरबहादुर पोख्रेलले बताए । सोमबार बेलुकी परेको असिनाका कारण उनी रातभरी सुत्न सकेनन् । उनको आम्दानीको मुख्य स्रोत भनेको नै अन्न र तरकारीबाली हो ।

गत असोजमा पनि भित्राउने बेलाको धान असिनाले चुटेर सखाप बनाएपछि रुनु न हाँस्नुको अवस्थामा पुगेका ज्यामरुककोटका किसान यतिखेर खेतवारीमा पाक्नै लागेको गहुँ पनि असिनाले चुटेर नष्ट बनाइदिएपछि अब के खाएर बाँच्ने भन्ने पीडाले थलिएका छन् । ज्यामरुककोटको फापरखेत, भकुण्डे, सानालेख, तमाने, गौश्वारा, भकिम्लीको तोराखेत, डाँडाखानीलगायत पश्चिम म्याग्दीका अधिकांश ठाउँमा सोमबार बेलुकी ठूलो असिना पानी परेर गहुँ, जौ, उवा लगायत खाद्यान्न, तरकारी र फलफूलबालीमा ठूलो क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।

बेनी नगरपालिका-२ सानालेखका कृषक हरिप्रसाद शर्माले असिनाका कारण खेतमा पाक्नै लागेको गहुँ र भर्खरै बतिला लागेको सुन्तला खेती कामै नलाग्ने गरी नष्ट गराइदिएको बताए । “असिना पानीले अन्नबाली नष्ट भएपछि यहाँका किसान अब के खाएर बाँच्ने हो भनेर चिन्तित छन्”, उनले भने, “एकातिर कोरोना सङ्क्रमणको महामारी छ, अर्कोतिर पाक्नै लागेको बाली असिनाले चुटेर भोकमरी हुने भयो ।”

ज्यामरुककोट क्षेत्रमा गत असोजको दशैंका दिन दश वर्ष यताकै ठूलो असिना पानी परेर पाक्नै लागेको धानबाली पूर्ण रुपमा नष्ट गरेको थियो । दशैंको दिन परेको भीषण असिनाले धानबाली नष्ट गरेपछि  किसानले यस वर्ष एक पाथी धान पनि भित्राउन पाएका थिएनन् । सरकारले त्यहाँका दुई सय १६ असिना पीडित किसानलाई राहतस्वरुप रु ३८ लाख उपलव्ध गराएको थियो । सो रकम सरकारी मापदण्ड अनुसार वितरण गर्ने तयारी गरिएकोमा लकडाउनका कारण किसानको हातमा पुर्याउन नसकिएको बेनी नगरपालिका-२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए। “असिनाका कारण धानबाली नष्ट हुँदा पीडामा रहेका यहाँका किसान गहुँबाली पनि नष्ट भएपछि ठूलो समस्यामा परेका छन्”, उनले भने, “लकडाउन खुल्ने वित्तिकै सरकारबाट प्राप्त राहत रकम किसानलाई उपलब्ध गराउने प्रयास गर्ने छु ।”

असिनाले धान र गहुँबाली मात्र होइन, यस क्षेत्रमा किसानले लगाएका बेमौसमी तरकारी खेती र मकैबाली पनि नष्ट पारिएको किसानको भनाइ छ । किसान डिलबहादुर थापाका अनुसार निकै बाक्लो गरी झरेको असिनाले काउली, बन्दा, टमाटरलगायत तरकारी बाली नष्ट भएका छन् । सिमी, बोडी, घिरौँला, काँक्रा र फलफूलका बिरुवाहरु पूर्ण रूपमा नष्ट भएका छन् । “खेतमा लगाइएको अन्नबाली सखाप भएका छन् । मान्छे र बस्तुभाउले अब के खाने ? भन्ने चिन्ता किसानको छ”, उनले भने, “बिक्रीका लागि तयारी अवस्थामा रहेका काउली, बन्दालगायत तरकारी र फलफूल सोत्तर पारेको छ ।”

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बाहिर जान नपाउँदा खेतबारीमा राम्रोसँग ध्यान दिएकाले खेतीपाती राम्रो भएको थियो” अर्का किसान धुर्व थापाले भने, “कोरोनाका डरले सताएको बेलामा बाली पनि सखाप भए, किसान अहिले रुने अवस्था आइपुगेको छ ।” वडाध्यक्ष थापाले गहुँ, तरकारी र फलफूलबालीको क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाबाट राहत उपलव्ध गराउन आफूले सक्दो प्रयास गर्ने बताए । उनले भने, “किसानमाथि परेको पीडाबाट म पनि मर्माहत भएको छु । नगरपालिकाबाट राहत उपलब्ध गराउने विषयमा म मात्रै बोलेर भएन, नगर प्रमुख हरिकुमार श्रेष्ठले पनि चासो देखाउनुभएको छ, केही दिनमा यसको टुङ्गो लाग्ला ।” -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button