दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन

सिबी अधिकारी। नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो । औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यले कोभिड–१९ का लागि चाहिने अत्यावश्यक हयाण्ड स्यानिटाइजर उत्पादन गरिरहेको  जानकारी दिए । उनका अनुसार अहिले विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ । विभागले १ सय एमएल बोलतको स्यानिटाइजर उत्पादन गरिरहेको हो ।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले लकडाउनको अवस्थामा बजारको अभावलाई पूर्ति गर्न स्यानिटाइजर उत्पादन थालेको हो । उत्पादित स्यानिटाइजर बजारमा राम्रोसँग बिक्री वितरण भइरहेको छ ।

विशेषगरी सरकारी कार्यालय, विभिन्न निकाय विभागले उत्पादन गरेको स्यानिटाइजर उपभोग गरिरहेका छन् । धेरै कार्यालय तथा निकाय विभागकै बिक्री वितरणकक्षमा आएर आवश्यक स्यानिटाइजर लैजाने गरेका छन् भने कतिपय औषधि खरिदकर्ताले विभागबाट खरिद गरेर बिक्री वितरण गरिरहेको विभागले उल्लेख गरेको छ ।

“हामीले कति स्यानिटाइजर कति उत्पादन गर्ने भन्ने बजारले निर्धारण गर्छ । हामीसँग अहिले १ सय एमएलका २० हजार बोतल उत्पादन गर्ने क्षमता छ । करिब छ हजार बोतल बिक्री वितरणका लागि आठदेखि १० हजार बोतल फिलिङ गरिरहेका छौँ”, निमित्त महाप्रबन्धक बज्राचार्यले भने ।

लकडाउनका कारण स्यानिटाइजर उत्पादन तथा उपभोगमा समस्या छ । कच्चा पदार्थको अभाव छ । वीरगञ्जबाट ल्याइने अल्कोहल ढुवानी गर्न समस्या छ । बोतल उत्पादन गर्ने उद्योग सबै बन्द छन् । लेवलका लागि प्रेस बन्द छन् । विभागको विशेष आग्रहमा अलिअलि सञ्चालन गरेर सहयोग गरिरहेका छन् ।

औषधि लिमिटेडले पहिला थोक बिक्रेतालाई मात्रै बिक्री गर्दै आए पनि अहिले विषम परिस्थिति भएकाले कार्यालय आउने जो–कोहीलाई आवश्यक स्यानिटाइजर होलसेल मूल्य प्रतिबोतल रु १ सय ५० मा उपलब्ध गराइने गरेको जनाएको छ । लिमिटेडले अहिले स्टकको स्यानिटाइजर बिक्री गरिरहेको र अर्को चरणको उत्पादनमा मूल्य घटाइने जनाएको छ ।

लिमिटेडबाट उत्पादन भएका स्यानिटाइजर बजारमा पाइने अन्यभन्दा गुणस्तरयुक्त रहेको दावी गरिँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप उत्पादन गरिएको स्यानिटाइजर ८० प्रतिशत अल्कोहल हुन्छ । बजारमा ६० देखि ७० प्रतिशत मात्रै अल्कोहल भएको स्यानिटाइजर पाइने विभागको दाबी छ । कोभिड–१९ को भाइरस मात्र ७० देखि प्रतिशत अल्कोहल चाहिने बताइन्छ ।

लिमिटेडले अत्यावश्यक एकतिहाइ कर्मचारीको व्यवस्था गरी बिहान ६ देखि बेलुका ८ बजेसम्म ‘फ्याक्ट्री’ चलाएर स्यानिटाइजरलगायत उत्पादन गरिरहेको छ । झण्डै १ सय कर्मचारीमध्ये अहिले ३० ले काम गरिरहेका छन् । महत्वपूर्ण सरकारी कार्यालय, मन्त्रालय, राष्ट्रपति कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, बैंक, वित्तीय संस्था तथा विभिन्न सङ्घसंस्थालगायतले लिमिटेडको स्यानिटाइजर प्रयोग भइरहेको छ । धेरैजसोले कार्यालयमै आएर सामग्री लैजाने गरेका छन् । औषधि लिमिटेडको उत्पादन बिक्रीका लागि ७ सय ७० थोक बिक्रेता कम्पनी छन् । उत्पादन पर्याप्त रहेको र बजार पनि राम्रो भइरहेको विभागले जनाएको छ ।

लकडाउनपछि नयाँ रणनीतिका साथ अघि बढ्ने

औषधि उत्पादन कम्पनीकामा काम गर्ने कामदारका लागि आवश्यक पर्ने मापदण्डको अभावमा लिमिटेडले विगत करिब १० वर्ष औषधि उत्पादन गर्न सकेको थिएन । लिमिटेडले शुरुमा १ सय २० प्रकारका औषधि उत्पादन गथ्र्यो । अहिले तीन प्रकारका स्यानिटाइजर, सिटामोल र जीवनजल मात्रै उत्पादन गरिरहेको छ । उत्पादित सामग्री बजारमा असाध्यै राम्रो खपत भइरहेको छ ।

बजारमा सीमित मौज्दात रहने भएकाले र आवश्यक मात्रै उत्पादन गर्ने भएकाले पनि अहिलेको बजार अभाव भएको लिमिटेडको बुझाइ छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न स्यानिटाइजर प्रयोग तथा साबुनपानीले राम्ररी हात धुन विज्ञहरुले सुझाएका छन् । सीमित उत्पादनले बजार धान्न नसकेको अवस्थामा औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन गरिरहेको हो । बजारमा अत्यावश्यक मास्क, स्यानिटाइजर अभाव छ । कतिपय औषधि पसलले बढी मूल्यमा बिक्री गरिरहेका छन् । व्यवसायीले लकडाउनको मौका छोपी उपभोक्तालाई महङ्गो मूल्यामा मास्क स्यानिटाइजर बेच्ने गरेका छन् । औषधि र मास्कमा बढी मूल्यमा लिएर कालोबजारी गर्ने केही फार्मेसी तथा औषधि पसललाई कारवाहीसमेत गरिएको छ ।

राजधानी काठमाडौँ मात्र होइन, देशभर स्यानिटाइजर अभाव छ । केही निजी कम्पनीले पनि स्यानिटाइजर उत्पादन गरिरहेका छन् । बजारमा अभाव बढिरहेकै छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा हालसम्म ४२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यीमध्ये छ जना उपचारपछि घर फर्किसकेका छन् । कोभिडको जोखिम नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि वैशाख १५ सम्म देशभर लकडाउन गरेको छ । पछिल्लो विवरणअनुसार विश्वका झण्डै १ सय १० देशमा महामारीको रूपमा फैलिएको कोभिडका कारण विश्वमा एक लाख ७७ हजार ५ सय १ को मृत्यु भइसकेको छ । हालसम्म २५ लाख ६५ हजार २ सय ५८ सङक्रमित छन् भने छ लाख ८६ हजार ६ सय ३४ उपचारपछि घर फर्किएका छन् । -रासस

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. यसको रिप्लाइ कहिले आउँछ?

  2. हामिलाइ सेनिटाइजर चाहिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button