संघीयताको औचित्य पुष्टि गर्ने बेला आएको छ !

विदुर रेग्मी । देश संघीयतामा प्रवेश गरेको ४ बर्ष पुगिसकेको छ । र पनि सरकारले संघीयताको मर्म बुझाउन नसक्दा जनताले संघीयताका फाइदा महशुस त गर्न सकेका छैनन् नै उल्टै संघीयताका दायित्व मात्रै बोझका रुपमा थपिँदा जनआकांक्षा व्यापक निराशामा परिवर्तन भएको अवस्था देखिएको छ ।

७ प्रदेश, ७७ जिल्ला, ७५३ वटा पालिका या स्थानीय सरकार गरी तीन तहका सरकारको जन्म गराएको यो प्रणालीले जनतालाई आफ्ना आवाज अझ सहज र बुलन्द रुपमा आफूलाई राज्य गर्नेसम्म पुर्याउन सक्ने आशा देखाएको थियो । तर लामो समय बित्दा पनि स्थानीय सरकारले निकै न्यून प्रभावकारिता र केन्द्रकै मुख ताक्दै समय बिताएको देखियो । यसरी दोष जति केन्द्रको पोल्टामा र फाइदा जति आफ्नै खल्तीमा राख्दै गर्दा आज प्रणाली प्रति नै जनतामा व्यापक अन्योल र निराशा ल्याएको छ । अझ ठोस योजना, वित्तीय व्यवस्थापन नै नगरी ल्याइएको नयाँ प्रणाली चल्न र चलाउन हम्मे हम्मे परेको छ सबै तहका सरकारलाई अनि हालसम्म पनि स्पष्ट कार्यविधी र कार्यविभाजन हुन नसकेको अवस्था छ ।

स्वास्थ्यका क्षेत्रमा कुरा गर्दा कुन तहले कुन काम गर्ने भन्ने अन्योल यो आर्थिक वर्ष सम्म पनि कायम नै रह्यो । यसैको चपेटामा महिला स्वास्थ स्वयंसेविकाहरुको अर्ध वार्षिक र वार्षिक समिक्षा कार्यक्रम पर्यो, जस्को फलस्वरूप यो आर्थिक वर्षमा यो कार्यक्रम नै संचालन हुन सकेन। यो त एउटा सानो उदाहरण मात्र हो, यस्तै अन्योलका माझ कुन सरकारले कुन कार्यक्रम संचालन गर्ने भन्ने स्पष्ट नहुदा धेरै कार्यक्रमहरु प्रभावकारी रूपमा संचालन हुन सकिरहेका छैनन् ।

यसै अन्योलबीच थपिएको कोरोना महामारीले नेपालका स्थानीय निकायलाई भने एक गम्भीर चुनौतीका साथै अवसर पनि लिएर आएको छ । अवसर यस अर्थमा कि यस्को सामना गर्नको लागि जुन सामर्थ्यको खाँचो पर्छ त्यो सामर्थ्य सम्म पुग्न गरिने हरेक क्रियाकलाप नै तीन तहका सरकारको सबलिकरणको मुख्य पाटो रहनेछ । स्थानीय तहको प्रभावकारी भूमिका विना यस चुनौतीलाई पन्छाउन असम्भव झै देखिएको छ । यसरी हेर्दा आज संघीयताको औचित्य प्रमाणित गर्ने यो नै सबैभन्दा उत्कृष्ट मौका हुनेछ ।

कोरोना महामारीको नियन्त्रणका लागि गरिएको लकडाउन र यसको पालनाका लागि गरिएका क्रियाकलापहरु, राहत वितरण, आइसोलेसन वार्ड र क्वारेन्टिन निर्माण लगाएत कामकुराहरु हेर्दा वास्तवमै सक्षम नेतृत्व हुने हो भने यो संघीयता प्रणाली एकदमै सही र आवश्यक महसुस हरेक जनता ले गर्नेछन् भन्ने कुरा यो महामारीले प्रमाणित गर्नेछ । देशभर फैलिएर रहेका आफ्नो स्थानीय तहका नागरिकलाई उचित व्यवस्थापन गर्न सक्ने हो भने त संघीयता सुनमा सुगन्ध बन्न सक्नेछ ।

आफ्नो स्थानीय तहमा रहेका विद्यालय, होटेललगायतसँग समन्वय गरेर पुग्दो क्वारेन्टिन गृह बनाउन सकिन्छ । स्थानीय तहले नै विदेशबाट आएका आफ्ना नागरिकको तथ्यांक राखेर उनीहरुको ट्र्याकिङ र ट्रेसिङ गर्न सके कोरोनाको रोकथाम निकै प्रभावकारी बन्न सक्छ । अझ स्थानीय निकाय अघि सकेर पारदर्शी रुपमा सहयोग संकलल गरे नेपालीहरु धनको गरिब भए पनि मनको पटक्कै गरिब छैनन् । उनीहरुले आफुसक्दो सहयोग गर्ने नै छन् जसले समाजमा राहत विवरण गर्न पनि केन्द्र सरकारको मुख ताक्दै बस्न पर्ने अवस्था आउँदैन । त्यस्तै स्थानीय स्तरमा नै कोरोना रोकथामको योजना बनाइ समुदायकै सहभागितामा कार्यन्वन गराएर आफ्नो पालिकालाई सुरक्षित राक्न सके संघीयताको तात्पर्य पुष्टि हुन्छ ।

अहिले पनि महामारी नियन्त्रणलाई केही स्थानीय तहले गरेका नबिनतम प्रयासहरु देख्दा जनताले स्थानीय सरकारको महत्त्व बुझ्न थालेको देख्न सकिन्छ । त्यस्तै स्थानीय सरकार प्रभावमारी बन्न सके कुनै निश्चित क्षेत्रमा समस्याले बिकाराल रुप लिए सोही वडा, पालिका , जिल्ला र प्रदेश लाई केन्द्रित गरि कार्यक्रम लागू गर्न सकिनेछ । यसरी त्यहाँका स्थानीय सरकारले जोखिम न्यूनीकरण गर्न आवश्यक कदम बढाउने र योजना, नीति, निर्माण र कार्यन्वयन गर्न सक्ने हुँदा महामारी नियन्त्रणमा संघीयताले ल्याएका तीन तहमा रहेका सरकार र यो ब्यबस्था नितान्त आव्स्यक रहेको कुराको महसुस गर्ने अवस्थाको सिर्जना भएको छ ।

यदि सबै तहका सरकार र तिनका प्रमुख, प्रतिनिधि लगायतका हरेक व्यक्ति सबल, सक्षम, कर्तव्यबोध र राष्ट्रप्रेमी भैदिने हो भने जस्तोसुकै बिपदको सजिलै सामना गर्न सकिन्छ । वास्तवमै देश विकासकै महत्त्वपूर्ण एजेन्डा रहेको संघीयताको कार्यन्वयन राम्रोसँग हुन सकेको खण्डमा यो व्यवस्था नै उत्तम हो भन्ने कुरा हरेक नागरिकले महसुस गर्नेछन ।

त्यसैले कोरोना महामारीको नियन्त्रणमा प्रभावकारी भुमिका निर्बाह गरि संघीयताको मर्म बुझाउने बेला आएकोले हरेक तह र राज्यले कोरोनालाई हराउँदै संघीयता भित्र रहेका हजार प्रश्नको उत्तर दिने र देशमा संघीयताको औचित्य प्रमाणित गर्ने बेला आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button