उपत्यकामा निर्माणाधीन सडक अलपत्र

काठमाडौँ। निर्माण सामग्री ल्याउन नसकिएपछि काठमाडौँ उपत्यकामा निर्माणाधीन धेरै सडक अलपत्र बनेका छन् । काठमाडौँ उपत्यकामा व्यस्त सडकमा ‘लकडाउन’ को समयमा काम शुरु भए पनि केही दिनभन्दा अघि बढ्न सकेन ।

निर्माण सामग्री लिन ललितपुरको लेले र काभ्रेको रोशीखोला पुगेको गाडी सामान नलिई फर्किएको हो । निर्माण सामग्री ल्याउन नदिइनुको कारणबारे ती पलिकासँग पत्र लेखेर सोधिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार ती पालिकाले वडा कार्यालय र ती वडाका केही व्यक्तिका कारण निर्माण सामग्री लैजान समस्या आएको जानकारी दिएका थिए । उनले भने, “सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पनि हामीले कुराकानी गरिरहेका छौँ ।”

कतिपय क्रसरमा स्टक नै ढुङ्गा गिट्टी रहेको र उत्पादनका लागि पनि धेरै जनशक्ति नलाग्ने प्रमुख नेपालीले बताए । त्यस्तै सामान ढुवानीका लागि पनि थोरै जनशक्ति भए पुग्ने उनले बताए । उनले भने, “चारपाँचजना व्यक्तिले ती स्थानबाट निर्माण सामग्री ल्याउन सक्छन् ।” गत सातादेखि शुरु भएको सडक निर्माण केही दिनमा नै अवरुद्ध भएको हो ।

त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको थियो । ह्युमपाइप राख्नका लागि खन्ने काम भने भइरहेको छ । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको थियो । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button