तनहुँमा अन्य जिल्लाबाट तरकारी आयात बन्द

कृष्ण न्यौपाने। बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि तनहुँ जिल्लाका कृषक खुशी भएका छन् । बन्दाबन्दीका क्रममा स्थानीय उत्पादनले बजार नपाएपछि निरास बनेका कृषक बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि खुशी भएका हुन् ।

बन्दाबन्दीका कारण तरकारी बिक्री नहुँदा बारीमै तरकारी कुहिने चिन्तामा रहेका यहाँका कृषक अब भने स्थानीय उत्पादनले बजार पाउनेमा ढुक्क छन् । बाहिरी जिल्लाबाट सहजरूपमा तरकारी भित्रिने तर स्थानीयस्तरमा उत्पादन भइरहेका तरकारी कुहिने हो कि भन्ने चिन्ता हटेको तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका कृषक सोलबहादुर चितौरे मगरले बताए ।

बन्दाबन्दी अगाडि यहाँ उत्पादित तरकारी चितवन, धादिङ, काठमाडौँसम्म निर्यात हुने गरे पनि अहिले व्यापारीले तरकारी खरिद गर्न छाडेका थिए । “तर अब बाहिरी जिल्लाबाट तरकारी आउन बन्द भएपछि यहाँका कृषक खुशी भएका छन्”, उनले भने, “बारीमै तरकारी कुहाएर फाल्न नपर्ने भयो ।” उनका अनुसार तनहुँ जिल्लाका लागि आवश्यक तरकारी जिल्लाभित्रै उत्पादन हुने गरेको छ ।

उनका अनुसार जिल्लाको आँबुखैरेनी, बन्दीपुर, शुक्लागण्डकीलगायतका ठाउँमा कृषकले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका छन् । बन्दाबन्दीका क्रममा व्यवस्थितरूपमा तरकारी बिक्री वितरणको व्यवस्था मिलाउन सकिए उपभोक्ताले पनि सुपथ मूल्यमा तरकारी खरिद गर्न पाउने चितौरेले बताए ।

उत्पादित तरकारी मिलीजुली कृषि उत्पादक सहकारी संस्थाले बिक्री वितरण गर्ने भएको छ । बन्दाबन्दीका कारण सहकारीमार्फत तरकारी बिक्री वितरण गर्न गाह्रो भए पनि अब भने सहजरूपमा तरकारी बिक्री वितरण गर्न सकिने सहकारीका अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिए । कृषकले उत्पादन गरेका तरकारी सहकारीमार्फत जिल्लामै बिक्री वितरणको व्यवस्था मिलाए पनि केही ठाउँमा तरकारी पसल सञ्चालकको अवरोधका कारण तरकारी बिक्री गर्न सकिएको थिएन । “बाहिरी जिल्लाबाट तरकारी आयात हुँदा यहाँ उत्पादित तरकारी बिक्री हुनसकेको थिएन, तर अब स्थानीय उत्पादनले बजार पाउने भयो”, गौलीले भने ।

करीब ५ सय भन्दा बढी कृषकले व्यावसायिकरुपमा तरकारी खेती गर्छन् । यस ठाउँमा अहिले उत्पादन अनुसारका बन्दा, काउली, फर्सी, लौका लगायतका तरकारी उत्पादन भइरहेको छ । गौलीका अनुसार आँबुखैरेनी गाउँपालिकाका कृषकले उत्पादन गरेको तरकारी सहकारीले खरिद गर्ने र सहकारीले जिल्लाभर तरकारी बिक्री वितरणको व्यवस्था मिलाउनेछ । कृषकले उत्पादन गरेको तरकारी सहकारीले खरिद गरेर होलसेल मूल्यमा रु १० भन्दा बढी वृद्धि नगरी खुद्रा बिक्री वितरण गर्ने सहमति भएको छ ।

लौका प्रतिकिलो रु ४५, काक्रो रु ३५, सिमी रु ५०, घिरौला रु ७५, फर्सी गोलो रु ३५, फर्सी लामो रु २५, करेला रु ७५, बन्दा रु ३०, भेन्टा लोकल रु ५०, चिचिण्डो रु ७५ मा विक्री वितरण गरिनेछ । साढे दुई किलोभन्दा बढी तरकारी खरिद गर्ने उपभोक्तालाई तरकारी खरिदमा सहुलियत प्रदान गरिनेछ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button