पहिलो पटक म्याग्दी भित्रिने नाकामा स्यानिटाइजर टनेल

म्याग्दी । म्याग्दीमै पहिलो पटक जिल्ला भित्रिने नाका कालीपुलमा स्यानिटाइजर टनेल स्थापना भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ रोकथामको सम्भावित सङ्क्रमणबाट जोगिन व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन टनेलबाट सङ्क्रमणमुक्त हुने भएको हो । साबुन पानीले हात धोएर स्यानिटाइजर लगाउनुपर्ने भनिँदै आएकामा अब जिल्ला भित्रिनेहरुलाई टनेलमा स्यानिटाइज गराइने भएको छ ।

म्याग्दीको प्रवेशद्वारमा नै राखिएको उक्त टनेलमा छिरिसकेपछि सात सेकेण्ड समयावधिमा नै शरीर पूरै स्यानिटाइज हुने प्राविधिकले जनाएका छन् । लायन्स क्लब अफ बेनी पिस सिटी र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मकाउले मङ्गलबार स्यानिटाइजर टनेल स्थापना गरेका हुन् ।

बेनीको म्याग्दी ऊर्जा प्रविधि केन्द्र र खत्री इलेक्ट्रोनिक्सले स्यानिटाइजर टनेल निर्माण गर्न प्राविधिक सहयोग गरेका छन् । “यो टनेलको प्रयोगसँगै म्याग्दीमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइज हुनेछ”, लायन्सका अगुवा चन्द्रकुमार केसीले भने।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले म्याग्दीलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि सामाजिक सङ्घ संस्थाको सहयोगमा स्यानिटाइजर टनेल स्थापना गरिएको जानकारी दिए। गण्डकी प्रदेशभन्दा बाहिरबाट आउने व्यक्तिलाई कालीपुलमा स्थापना गरिएको चेक पोष्टका सुरक्षाकर्मी र स्वयंसेवकले स्यानिटाइज गराउनेछन् ।

मानिस टनेलभित्र छिरेपछि त्यहाँ जडान गरिएको स्वचालित उपकरणले माथि, दाया र बायाँबाट भाइरस नष्ट गर्ने स्यानिटाइजरको फोहोरा आउँछ । मानिसले टनेलभित्रको भुइँमा जडान गरिएको सेन्सरमा टेकेपछि टर्वाइन चालु भएर ग्यालिनभित्र राखिएको स्यानिटाइजर फोहोराबाट फाल्छ । एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्न सकिन्छ ।

एउटा स्यानीटाइजर टनेल बनाउँदा रु. एक लाख ५० हजार मूल्य बराबरका सामग्री खर्च भएको खत्री इलेक्ट्रिकल्सका सञ्चालक कृष्ण खत्रीले बताउए । दुई दिनमा तयार पारिएको स्यानिटाइजर टनेल बुधबारदेखि औपचारिकरूपमा सञ्चालन गरिने भएको छ ।

यसैबीच नेपाल प्रगतिशील इञ्जिनियरीङ एसोसिएसन (पिन) म्याग्दीको प्राविधिक सहयोगमा बेनी अस्पतालमा पनि स्यानिटाइजर टनेल स्थापना गर्न लागिएको छ । बुधबारदेखि अस्पतालको स्यानिटाइजर टनेल पनि सञ्चालनमा आउने पिन म्याग्दीका संयोजक कृष्ण रिजालले जानकारी दिए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button