पर्वतमा वैशाख १० गतेपछि भित्रिएकाको विवरण सङ्कलन गरिदै

पर्वत । विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण न्यूनीकरणका लागि पर्वतमा वैशाख १० गतेपछि भित्रिएका नागरिकहरुको विवरण सङ्कलन शुरु गरिएको छ । पछिल्लो एक साता नेपालका विभिन्न जिल्लाबाट पर्वतमा भित्रिनेहरुको सङ्ख्या ह्वात्तै बढेपछि स्थानीय तहहरुले विवरण सङ्कलन थालेका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई वैशाख १० गतेपछि गाउँगाउँमा भित्रिएका नागरिकहरुको विवरण अद्यावधिक गर्न आग्रह गरेपछि कुश्मा नगरपालिकाले पनि सबै वडालाई पत्राचार गरेको छ ।

नगरपालिकाले फारम निर्माण गरेर प्रत्येक वडा कार्यालयहरुमा आ–आफ्नो वडाभित्र वैशाख १० गतेपछि आएका नागरिकहरुको विवरण सङ्कलन गर्न आग्रह गरेको हो । व्यक्तिको नाम थर, उमेर, लिङ्ग, स्थायी ठेगाना, आएको मिति, छोडेको जिल्ला र मोर्बाल नम्बर उल्लेख गरिएको फारम बनाएर विवरण सङ्कलन शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले जानकारी दिए।

जिल्लाभित्र सङ्क्रमणको जोखिम नभएका बेला बाहिरी जिल्लाहरुबाट भित्रिने क्रम बढेपछि यस्तो अभियान थालिएको उनले बताए । सङ्कलित विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाइने नगरपालिकाले जनाएको छ ।

बन्दाबन्दीका कारण अन्तरजिल्ला, अन्तरपालिका आवतजावतमा कडाइ गरिएको छ । यस्तो अवस्थामा पनि पर्वतमा विभिन्न जिल्लाबाट भित्रिने क्रम रोकिएको छैन । अन्य जिल्लावाट पर्वतमा भित्रिएका मध्ये २३ जना विभिन्न पालिकामा रहेका क्वारेन्टाइनमा र दुई जना आइसोलेसनमा रहेका छन् ।

जिल्लाको जलजलामा छ, पैंयुमा छ, फलेवासमा दुई, महाशीलामा नौ जना क्वारेन्टाइमा रहेका छन् । ती मध्ये छ जना तराई क्षेत्रबाट आएका हुन् भने अन्य विभिन्न जिल्लाबाट आएका हुन् ।

त्यस्तै भारतवाट आएकाको सम्पर्कमा रहेका फलेवास नगरपालिका–३ का एक दम्पती पर्वतको अस्थायी कोरोना अस्पतालमा आइसोलेसनमा रहेका छन् । ज्वरो र खोकी जस्ता लक्षण देखिएपछि उनीहरुलाई आइसोलेुनमा राखिएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिए । दम्पतीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पोखरा पठाइएको र आज साँझसम्म रिपोर्ट आउने डा. देवकोटाले जानकारी दिए

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तराई क्षेत्रबाट भित्रिएकाहरुलाई क्वारेन्टाइनमा र अन्य जिल्लाबाट भित्रिएकालाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए । उनका अनुसार सोहीअनुसार स्थानीय तहहरुले व्यवस्थापन गरेका छन् ।

पर्वत अस्पतालका विशेषज्ञ चिकित्सक विष्णु भण्डारीले पनि अब होम क्वारेन्टाइनमा बस्ने बाहेक अन्य विकल्प नभएको बताए  । गाउँमा आएकालाई २१ दिनसम्म घरमा नै बस्नका लागि प्रेरित गर्ने, स्वास्थ्य संस्थामा नजाने, वरपर घुम्न नदिने र घरमै सुरक्षित बस्ने वातावरण बनाउनुपर्ने डा भण्डारीको सुझाव छ । गाउँमा स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने जोखिम बढेका कारण सानातिना समस्यामा स्वास्थ्य संस्था नजान उनको  आग्रह छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button