अभिनेता इरफान खानको निधन

पोखरा । बलिउडका ख्यातिप्राप्त अभिनेता इरफान खानको बुधबार ५३ वर्षको उमेरमा निधन भएको छ ।

खानको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा ठुलो आन्द्रामा भएको इन्फेक्सनका कारण मृत्यु भएको उनका प्रवक्ताले जानकारी दिएका हुन् । सन् २०१८ मा न्युरोइन्डोक्रिन क्यान्सर देखिएपछि उनले युके मै लामो समय उपचार गराएका थिए । क्यान्सरको पुष्टि भएपछि विक्षिप्त बनेका इरफानले, “विश्वास गर्नुस्, मैले आत्मसमर्पण गरेँ” भनेर नोटमा लेखेका थिए ।

सन् १९८८ मा सलाम बम्बे नामक चलचित्रमार्फत अभिनय जगतमा प्रवेश गरेका इरफानले आफ्नो जीवन्त अभिनयका कारण विश्वभर नै थुप्रै प्रशंसक बटुलेका छन् । उनको प्रख्यात हिन्दी चलचित्रहरुमा लाइफ इन मेट्रो, पानसिंह तोमार, लन्चबक्स, पिकु, तलबार, हिन्दी मिडियम, करिब करिब सिङ्गल लगायत रहेका छन् । उनका बलिउडबाहेक हलिउडका चलचित्र पनि उत्तिकै रुचाइएका छन् । खानले द वारियर, स्लमडग मिलियनेयर, लाइफ अफ आई जस्ता चलचित्रमा प्रमुख भूमिका तथा जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडरम्यानमा सहायक भुमिकामा अभिनय गरेका थिए ।

खान्ले भारतका कैयौं अवार्ड जित्नुका साथै सन् २०१२ मा पान सिंह तोमार चलचित्रका लागि इन्डियन नेसनल फिल्म अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका थिए । उनको स्लमडग मिलियनियर चलचित्र सन् २००९ को ओस्करमा ९ विधामा छनोट भएको थियो जसमध्ये सोही चलचित्रको जय हो नामक एक गीतले दुई विधामा अवार्डसमेत जितेको थियो । पहिले जिन्दगीमा क्रिकेटर बन्ने सोच बोकेका इरफानले अभिनयबाहेक कार्टुनिस्टको कामसमेत गरेका थिए ।

जिन्दगीको अन्तिम क्षण कुनै ट्राजेडी चलचित झै भोगेका इरफानलाई क्यान्सरको पीडासँगसँगै ४ दिन अघि मात्रै मातृशोकसमेत परेको थियो । ५३ वर्षको अल्पायु मै संसार छोडेका बहुप्रतिभाशाली इरफानको मृत्युमा कैयौं हस्तीले दुख व्यक्त गरेका छन् । उनको अन्तिम चलचित्र इङ्ग्लिस मिडियम यही मार्च १३ रिलिज भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button