लकडाउनमा जोखिम मोलेर भिर मौरीको मह शिकार

म्याग्दी । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको मटला भिरमा स्थानीयवासी जोखिम मोलेर मह निकाल्न व्यस्त रहेका छन् । लकडाउनको समयमा स्थानीय सङ्घसंस्थाको अनुमति लिएर मह शिकारीले डोरीको सहायताले भिरमौरीको गोला निकालेका हुन् ।

अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारी डोरीको सहायताले भिर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुन्डिएर मह काढिरहेका छन् । तल बसेर हेर्दा अत्यन्तै त्रास र रोमाञ्चक लाग्ने यो दृश्यले मुटुको धड्कन बढाउँछ । भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ ।

यहाँको लुलाङ, हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भिरमा भिरमौरीले गोला लगाएका छन् । तिनै गोला काढ्नका लागि मह शिकारीहरु डोरी (परङ) मा झुन्डिएर मह शिकार गरिरहेका छन् । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्ने गरिन्छ ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथीबाट तल भुईंसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् ।

यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यलाई एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन यसको प्रयोग बढी भएको पाइएको छ ।

भिर महको याम शुरु भएपछि लुलाङ, गुर्जालगायतका जङ्गलमा रहेको भिर महमा मह शिकारी डोरी (पाराङ) मा झुन्डिएर मह निकाल्न शुरु गरेका धवलागिरि गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुवेदीले जानकारी दिए। उनका अनुसार स्थलगत रुपमा नै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले समेत भिर महको सम्भावना भए पनि आधुनिक विधिको प्रयोग गरी ज्यानको जोखिम टार्न आवश्यक सहयोग गर्ने बताए।

“महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्, विशेष प्रकारको धुवाँ लगाइदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने शिकारीले विशेष ध्यान पुर्याउनुपर्छ ।” योजना शाखाका प्रमुख सुवेदीले भने  । परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्न शुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओडारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुन्छ । मुख्य शिकारीले विशेष प्रकारको हतियार प्रयोग गरी निकालेको मह एउटा भाँडालाई डोरीको सहायताले भुईंसम्म ल्याउने गरिन्छ ।

“मह निकाल्न सकियो भने बजारको खासै समस्या हुँदैन, व्यापारीहरु जङ्गलमै आइपुग्छन् । बजारमा महको प्रतिलिटर रु दुई हजारमा जति पनि बिक्री हुुन्छ । अन्तर्राष्ट्रियस्तरमा यसको माग उच्च छ,  कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यवसायीकरण बनाउँदै लैजानुपर्छ”, म्याग्दीका मह शिकारी ओमबहादुर जुग्जालीले भने ।

यस्तो जोखिम मोलेर निकालेको मह बजारमा रु एक हजारदेखि एक हजार २ सय प्रतिलिटर बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग उच्च हुने गरेको मह व्यापारीले बताएका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button