भारतमा रोकिएका नेपाली मजदुर एक महिनापछि घर फर्किए

नरेन्द्रसिंह कार्की। कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किएका छन । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।

चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । “ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौँ”, दलबहादुर बुढाले भने, “आफ्नै जन्मभूमि र आफ्नो गाउँ फर्किन पाउँदा खुशीको सीमा छैन ।” उनले भने, “सरकारले हाम्रो आवाज सुनिदियो, धेरैधेरै धन्यवाद ।” “आफ्नो भनेको आफ्नै हुन्छ”, बुढा भन्छन, “भारतमा बसेर उनीहरुको गाली खाएर बस्नुभन्दा आफ्नो ठाउँ आएका छौँ यही रमाउँछौं ।”

“भारतमा रहेका मजदुरहरु स्वदेश आएसँगै आफ्नो गाउँसम्म पुर्याउनुपर्छ”, शुक्लाफाँटा नगरपालिका–१० का मनोज पार्की बताउछन, “सरकारले उद्धार गर्यो, अब घरपरिवार भेट्न चाहन्छौँ ।” गत मङ्सिरमा भारतमा मजदुरी गर्न गएका मनोज अब भारतभन्दा आफ्नै भूमिमा काम गर्ने बताउछन । अप्ठ्यारो परेको बेला आफ्नै देशको भूमि प्यारो छ । भारतमा गएर गालीगलौज खानु शिवाय केही छैन । एक महिना क्वारेन्टाइन बस्दा भोगेको समस्या भनेर साध्य छैन । उनीहरुकले निरन्तर आफ्नो समस्या सञ्चारमाध्यममा दिएकै कारण सरकारले भारतबाट उद्धार गर्ने निर्णय गरेको हो ।

बिहीबार दार्चुला जिल्लाका दुई नाका दत्तु र खलङ्गा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ । सदरमुकाम खलङ्गाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलङ्गा र दत्तुमै स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

बैतडी, बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उनले बताए । नेपाल भित्र्याइएका कैलाली कञ्चनपुरलगायत अन्य जिल्लाका नागरिक पनि पठाउने तयारी भइरहेको छ । आफ्ना स्थानीय तहका नागरिक लिन बैतडी र बझाङका जनप्रतिनिधि दार्चुला आएका थिए । धार्चुलाका विभिन्न क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुलालगायत अन्य जिल्लाका नागरिक खलङ्गा नाकाबाट नेपाल भित्र्याएको हो ।

नेपाल भारतमा लकडाउन भएपछि धार्चुलामा पुगेका नेपालीले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै तीन दिनसम्म पुल छेउबाटै नाराबाजी गरेका थिए । सयौँ नेपाली महाकाली तरेरसमेत नेपाल फर्किएका थिए । नेपाल भित्रिन नसकेका मजदुरलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो । दत्तु र खलङ्गा नाका भएर अपराह्नसम्म एक हजार २ सय ९० नेपाली स्वेदश फर्किएका छन् । ढिलै भए पनि सफलरूपमा नेपाल प्रवेश गराएर सम्बन्धित तहमा पठाउन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल खुशी व्यक्त गर्छन । उनी भन्छन, “ लामो समयदेखि उद्धारको माग गर्दै आएका नेपाली मजदुरलाई उद्धार गर्न सकियो । लामो समयसम्म माथिबाट आदेश नआउँदा ढिलाइ भए पनि अहिले आएर उनीहरुको स्वास्थ्य जाँच गरेर पठाएका छौँ ।”

उद्धारपछि नेपालको मात्र होइन, भारतीय प्रशासनसमेत खुशी छ । भारत धार्चुलाका एसडीएम अनिल शुक्लाले एक महिनासम्म नेपालीको स्वास्थ्य जाँच गरी सुरक्षित राखिएको बताउनुभयो । एसडीएम शुक्लाले भने, “सबै नेपाली स्वस्थ्य छन्, चिन्ता मान्नुपर्ने अवस्था छैन ।” उन नेपालीलाई धार्चुलामा, खान, बस्न, मनोरञ्जन खेल्न तथा योगको माध्यमबाट खुसी राखिएको प्रतिक्रिया दिए। भारतको पिथौरागढअन्तर्गत धार्चुलामा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, अछाम, दैलेख, सुर्खेतलगायतका जिल्लाका मजदुर थिए ।

तेह्र सयको उद्धार

दार्चुलामा लकडाउनका कारण धार्चुलामा अलपत्र परेका एक हजार २ सय ९० को उद्धार गरिएको छ । सदरमुकाम खलङ्गा र दत्तुनाका भएर वैशाख १८ गते नेपालीको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सदरमुकाम खलङ्गा नाका भएर ३ सय ७६ र दत्तुनाका भएर ९ सय १४ को उद्धार गरिएको छ । एक महिनादेखि लकडाउनका कारण धार्चुलाका पाँच क्वारेन्टाइनमा बसेका र होमक्वारेन्टाइनमा रहेका दार्चुलासहित १२ जिल्लाका नागरिकको उद्धार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दिएको जानकारीअनुसार दार्चुलाका ३ सय ११, बैतडीका ४ सय ७४, बझाङका २ सय ८३, अछामका ५०, कैलालीका १ सय २, डोटीका दुई, डडेल्धुराका २१ र कञ्चनपुरका २१ जना रहेका छन् । यस्तै दैलेखका दुई, सुर्खेतका तीन, हुम्लाका एक र कालीकोटका तीन जना छन् । उद्धार गरिएका दार्चुलाका अधिकांश स्थानीय तह र बैतडी बझाङका केहि व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button