भारतमा लकडाउन थपियो, पुरै देश तीन जोनमा वर्गीकरण गरिदै

पोखरा न्यूज । भारतमा लकडाउन थप दुई साताका लागि लम्बिएको छ । यसको साथसाथै कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी बनाउन भारतले देशका सबै ७ सय ३३ जिल्लालाई नै रेड, ओरेन्ज र ग्रीन गरी तीन जोनमा वर्गीकरण गरेको छ ।

यसरी वर्गीकरण गर्दा संक्रमितको संख्या तथा संक्रमण दर उच्च रहेका जिल्लालाई रेड जोनमा राखिएको छ । त्यस्तै ओरेन्ज जोनमा रेड जोन भन्दा तुलनात्मक कम संक्रमित भएको जिल्लाहरुलाई राखिनेछ भने ग्रीन जोनमा विगत २१ दिनसम्म कुनै संक्रमित फेला नपरेका जिल्लालाई राखिनेछ । यसरी एक पटक वर्गीकरण गरिएका जिल्लामा संक्रमितको संख्या बढ्दै गए ग्रीनबाट ओरेन्ज, ओरेन्जबाट रेड वा ग्रीनबाट सिधै रेड जोनमा प्रतिस्थापित हुनेछन् ।

यसरी छुट्याइएका जोनहरुमा कस्तो किसिमको प्रतिबन्ध र कुन हदको लकडाउन लागू गर्ने भन्ने बारे पनि छिटै निर्णय हुने बताइएको छ । त्यस्तै रेड जोन भित्र पनि कन्टेन्मेन्ट जोन खडा गरेर त्यहाँ सबैभन्दा कडा तहको प्रतिबन्ध लगाइने पनि जनाइएको छ । यसरी आवजजावतमा कडा रोक लगाइने कन्टेन्मेन्ट जोन कोलोनी, वडा, गाउँ, पञ्चायत देखि पूरा शहर नै पनि हुन सक्नेछ ।

पछिल्लो वर्गीकरण अनुसार अरुणाञ्चल प्रदेश, आसाम, हिमाचल, झारखण्ड, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, सिक्किम, त्रिपुरा राज्यका कुनै पनि जिल्ला रेड जोनमा परेका छैनन् । पश्चिम बङ्गालका कोलकाता, दार्जिलिङ, कालिम्पोङ, हाउरालगायतका जिल्ला, उत्तर प्रदेशका आगरा, लखनउ, कानपुर, फिरोजावाद, वाराणसी, बरेलीलगायतका जिल्ला, तमिलनाडुका चेन्नई, थिरुभल्लुर, भेलोर, मदुराई, रानीपेटलगायतका जिल्लाहरु, महाराष्ट्रका मुम्बई, थाने, नासिक, पुणे, नागपुरलगायतका जिल्लाहरु, मध्यप्रदेशका इन्दोर, भोपाल, उज्जेन, ग्वालियरलगायत जिल्लाहरु भने रेड जोनमा परेका छन् । त्यस्तै गुजरातका अहमदावाद, सुरत, आनन्द, पञ्चमहल, गान्धीनगरलगायतका जिल्लाहरु, विहारका पटना, गया, मुङ्गर, रोहटास लगायत जिल्ला तथा राजधानी दिल्लीका सबै जिल्लाहरुलाई पनि रेड जोनमा राखिएको छ ।

अबको लकडाउनको नयाँ रणनीति यसै वर्गीकरणमा आधारित हुने अनुमान गरिएको छ । पछिल्लो आँकडा अनुसार भारतमा ३५ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ११ सय ५४ को मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button