म्याग्दीका कुखुरापालक मारमा : ‘मूल्य घट्यो, लगानी डुब्यो’

कमल खत्री। बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश छन । लकडाउनसँगै बजारमा कुखुराको माग र मूल्य दुवै घटेपछि कार्की निराश बनेका हुन् ।

दुई हजार ३ सय ५० वटा कुखुराका चल्ला र दानापानीसहित अहिलेसम्म रु साढे सात लाखको हाराहारीमा लगानी भइसकेको भए पनि बजारमा माग र मूल्य नै नभएकाले समस्यामा परेको कार्कीले बताए । “हिसाब गर्ने हो भने प्रतिकिलो कुखुरामा रु २ सय ४० बढी हाम्रो नै लगानी हुँदो रहेछ, तर अहिले प्रतिकिलो रु २ सयमा बिक्री गर्न पनि कठिन छ, यस पटक लगानी उठाउन पनि कठिन हुने भएको छ”, उनले भने ।

लागतअनुसारको मूल्य नपाउँदा यस पटक कम्तीमा रु दुई लाख घाटा हुने निश्चित भएको उनले दुःखेसो पोखे । विगत १५ वर्षदेखि व्यावसायिकरुपमा कुखुरापालन गर्दै आएका कृषक कार्कीलाई फार्ममा यस पटक ५ सय  बढी कुखुरा मरेको र लकडाउनका कारण मूल्य नपाउने समस्याले पिरोलेको छ । तीन हजार बढी कुखुरापालन गर्नसक्ने क्षमताका तीन वटा खोरलगायतका पूर्वाधार निर्माणमा कार्कीले अहिलेसम्म रु ५० लाख खर्च गरिसकेको उनको  भनाइ छ ।

लकडाउनपछि दानामा समेत प्रतिबोरा रु ५० को दरले मूल्यवृद्धि भएपछि कृषको लागत बढेको छ । ब्रोइलर कुखुरा पालक कृषकसँगै अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालकसमेत समस्यामा परेका छन् । उत्पादन भएको अण्डाले बजार र उचित मूल्य नपाउने समस्या बढ्दै गएको कृषक आनन्द रिजालले बताए । बेनपा–२ खवरामा चार हजार लेयर्स कुखुरा पालेका रिजालले दैनिक १७ कार्टुन अण्डा उत्पादन हुने भए पनि बजारमा खपत घटेका कारण समस्या सिर्जना भएको बताए ।

उनका अनुसार लकडाउनअघि एक कार्टुन अण्डालाई रु दुई हजार २ सय सम्ममा बिक्री हुने भए पनि अहिले एक हजार ९ सयमा बिक्री गर्न थालिएको छ । यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण कुखुरापालन गर्ने कृषक मारमा परेका छन् । लकडाउनसँगै बजार सुनसान बनेको र होटल तथा रेष्टुराँ बन्द भएका कारण बजारमा मासु र अण्डाको माग ह्वात्तै घटेको छ ।

लकडाउनको पूर्वसन्ध्यामा फार्ममा कुखुरा राखेकाको यतिबेला बिक्री गर्ने समय भइसकेको भए पनि बजार अभावले समस्या सिर्जना भएको म्याग्दी कुखुरा व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष शिव खड्काका अनुसार म्याग्दीमा दैनिक एक हजार क्विन्टल मासु खपत हुने भए पनि अहिले १ सय क्विन्टलको हाराहारीमा मात्रै खपत हुने गरेको छ ।

म्याग्दीमा व्यावसायिकरूपमा कुखुरा पालन गर्ने ५० भन्दा बढी फार्म रहेका छन् । लकडाउनका कारण बाहिरबाट कुखुराका चल्ला नभित्रिएको भए पनि फार्ममा बिक्री गर्नका लागि तयारी भएका कुखुराले बजार पाउन नसकेको अध्यक्ष खड्काको भनाइ छ । यता ग्रामीण भेगमा कुखुरा पालन गरेका कृषक लकडाउनका कारण सवारी आवतजावतमा परेको प्रभावले दाना र उत्पादन भएका कुखुरा र अण्डा बजारीकरणका लागि ढुवानीको थप समस्यामा परेका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button