लकडाउनले बन्दीपुर केबलकारको निर्माण कार्य प्रभावित

तनहुँ। बन्दाबन्दीका कारण मजदुर आउन नसक्दा तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गादेखि निर्माण भइरहेको केबलकार परियोजनाको काम प्रभावित भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी शुरु भएपछि घर गएका मजदुर फर्कन नसकेपछि केबलकार परियोजनाको काम प्रभावित भएको हो ।

गण्डकी प्रदेश सरकारले सावधानी अपनाएर विकास निर्माणका काम सञ्चालन गर्न सकिने निर्णय गरेपछि घर गएका मजदुरलाई फिर्ता ल्याएर काम गर्ने सोंच बनाए पनि मजदुरलाई ल्याउन नसकिएको बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

“बन्दाबन्दी भएपछि मजदुरलाई घर पठायौँ बन्दाबन्दी लम्बिँदै गयो, अहिले उनीहरुलाई ल्याएर काम शुरु गर्ने सोंच बनाए पनि उनीहरुलाई ल्याउन सकिएको छैन”, शर्माले भने, “सवारी पासको अनुमति नपाउँदा मजदुर आउन सकेनन् ।” बन्दाबन्दी अगाडि केबलकार परियोजनामा १७० मजदुर आयोजनास्थलमा खटिएका थिए । बर्दिया, काठमाडौँ र सप्तरी घर भएका मजदुर सुरक्षितरूपमै घरमै बसिरहेका छन् ।

“मजदुर काममा आउन तयार छन्, तर उनीहरुलाई ल्याउनका लागि प्रशासनसँग पासको व्यवस्था मिलाइदिन अनुरोध गर्यौ”, शर्माले भने, “सवारी पास उपलब्ध हुन नसकेपछि मजदुरलाई ल्याउन सकेका छैनौं ।” जिल्ला प्रशासन कार्यालय तनहुँले मजदुर भएका सम्बन्धित जिल्लाबाटै पास लिएर आउन आग्रह गरेको र मजदुर आए काम गर्नका लागि अनुमति दिने बताएको शर्माले जानकारी दिए ।

“मजदुर भएका ठाउँबाटै पास लिएर आउन अहिलेको अवस्थामा सम्भव छैन, तनहुँबाटै पास उपलब्ध भए उनीहरुलाई ल्याउने व्यवस्था मिलाउन सकिन्थ्यो”, शर्माले भने । शर्माका अनुसार सबै मजदुरको स्वास्थ्य अवस्था परीक्षण गरेर उनीहरुलाई सुरक्षितरूपमा राखेर केबलकार आयोजनाको काम अगाडि बढाउने सोंच राखिएको छ ।

केबलकार परियोजनाअन्तर्गत चैत ८ गतेदेखि १३ तलाको होटलसमेत निर्माण शुरु भएको थियो । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण शुरु भएको होटलको बेसमा ढलान गरिएपछि काम स्थगन गरिएको छ । २५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त होटलको लागत रु ८० करोड अनुमान गरिएको छ ।

“बन्दाबन्दीका कारण तोकिएकै मितिमा आयोजनाका सम्पूर्ण काम सम्पन्न हुने अवस्था रहेन”, शर्माले भने, “आयोजनाको निर्माण सम्पन्न अवधि केही समय पछाडि धकेलिन्छ ।” चारतारे होटल निर्माणको जिम्मा काठमाडौँस्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबीआइ बैंकसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।

केबुलकार पनि आगामी दशैभित्र सञ्चालनमा ल्याउने गरी काम भए पनि बन्दाबन्दीले काममा असर पुगेको छ । केबलकारका लागि बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा बटम स्टेशन भवनको काम शुरु गरिएको थियो । उक्त भवनको मात्रै लागत रु १८ करोड ५५ लाख रहेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ ।

हालसम्म केबलकार परियोजनाको काम ३५ प्रतिशत सकिएको छ । शर्माका अनुसार केबलकारको टावरको खाल्डा खन्ने र पिलरको काम सकिएको छ । बटम स्टेशनमा केबलकारको खण्ड निर्माण सम्पन्न भएको छ । केबलकार परियोजनाको परामर्शदाताका रूपमा काठमाडौस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रूपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १ सयभन्दा बढी लगानीकर्ता छन् ।

प्रारम्भमा रु ५६ करोडको लागतमा केवलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केवलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेवापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६ सय  मिटर यात्रा गर्नेछ ।

तनहुँको डुम्रे बजारबाट बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुईवटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button