वालिङमा डेङ्गु नियन्त्रण गर्न ‘खोजी र नष्ट’ अभियान

तोलाकान्त बगाल। स्याङ्जाको  वालिङ नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अर्थात् ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियान थालेको छ । सो नगरपालिकामा एकजना डेङ्गुका बिरामी भेटिएसँगै अन्यलाई फैलन नदिन साथै यसको नियन्त्रणका गर्न सो अभियान शुरुआत गरिएको हो ।

वालिङस्थित विभिन्न सङ्घसंस्था तथा क्लबको सहयोगमा नगरभित्र सो रोग सार्ने माध्यमका रुपमा रहेको लामखुट्टे बढ्न नदिने, यसको वासस्थान रहन सक्ने सम्भावित ठाउँको खोजी गरी कीटनाशक औषधिको प्रयोग गरी मार्ने कार्य थालेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

“वालिङमा डेङ्गुका बिरामी भेटिएपछि अरुमा फैलन नदिनका लागि लामखुट्टेको वासस्थान रहने ठाउँ जस्तैः पानी जमेको ठाउँ, गाडीका टायर, गमलाको सरसफाइमा विशेष ध्यान दिएका छौँ”, नगर प्रमुख खाँणले भने, “नगरका विभिन्न ग्यारेज तथा पानी जमेका ठाउँमा कीटनाशक औषधि छरेका छौँ भने सचेतनास्वरुप माइकिङलाई टोल टोलमा पुर्याएका छौँ ।”

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिई सफा राख्न पनि नगरपालिकाले सबैसंँग आग्रह समेत गरेको छ ।

एकजनामा डेङ्गु रोग देखिए पनि अन्यमा भने अहिलेसम्म नदेखिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम हुन नदिन अहिले लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेज, पानी जमेका सडकका खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्कनाका साथै डेङ्गु रोगबारेमा जानकारी दिने उद्देश्यले माइकिङसमेत गरिएको उनले बताए ।

डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

एक्कासि उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले आग्रह गरे  । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button