कालोबजारी आरोपमा २ पक्राउ, ५३ बोरा मलसहित भण्डार सिल

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ ।

मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ ।

सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रहरीले श्रेष्ठको फार्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी अनुसन्धान अघि बढाएको उनको भनाइ छ । पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी ऐन, २०३२ अन्तर्गत कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

आफूहरु ठगिएको थाहा पाएपछि किसानले शुक्रबार दिनभर उक्त फार्ममा धर्नासमेत दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button