तनहुँमा थप एउटा चितुवा खोरमा फस्यो

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराटारमा आज बिहान थप एउटा चितुवा खोरमा परेको छ । चितुवाको आतङ्क बढेपछि राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

वन कार्यालयको सहयोगमा स्थानीयवासीले १५ दिन अगाडि खोर राखेका थिए । बाख्रासहितको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई उद्धार गरेर डिभिजन वन कार्यालय तनहुँले ल्याएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए । “खोरमा परेको चितुवा दमौली ल्याउँदैछौं, यसलाई कहाँ लैजाने भन्नेबारेमा छलफल हुँदैछ”, बरालले भने।

शेराटारका स्थानीयवासी रामप्रसाद भट्टराईले खोर राखेको १५ दिनमा चितुवा नियन्त्रणमा आएको जानकारी दिए। उनका अनुसार दिनदिनै उक्त खोरमा बाख्रा राख्ने गरिएको थियो । “चितुवा आतङ्क बढेपछि वन कार्यालयको सहयोगमा खोर राखेका थियौँ”, उनले भने ।

तनहुँका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने क्रम बढेपछि डिभिजन वन कार्यालय तनहुँले काठको खोर थापेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी सात चितुवा नियन्त्रणमा आइसकेको छ ।

वैशाख ३ गते मात्रै बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा मृतावस्थामा चितुवा फेला परेको थियो । तनहुँको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button