भारतबाट पोखरा आइपुगेका युवालाई नियन्त्रणमा लिई कोरोना परीक्षण गरियो

पोखरा न्यूज । भारतको कर्नाटकबाट पोखरा आइपुगेका एक युवकलाई नियन्त्रणमा लियर आरडीटी र पिसिआरबाट कोरोना
परीक्षण गरिएको छ ।

भारतबाट मंगलबार पोखरा – ८, इन्द्रपुरी टोलस्थित भाडामा बसेको घरमा आइपुगेका सोलुखुम्बुका २३ वर्षीय अभिषेक बस्नेतलाई क्वारेन्टिनमा राख्नको लागि प्रहरी सहितको टोली पुग्दा हाम फालेर भाग्न खोजेका थिए ।

आफ्ना आमाबाबु बसेको इन्द्रपुरी टोलस्थित घरको ३ तलामाथिबाट हाम फालेर भाग्न खोजेका उनलाई  प्रहरीले नियन्त्रणमा लिएर प्रयोगशाला पुर्याई कोरोना परीक्षण गराएको हो ।

उनको आरडीटी परीक्षण नेगेटिभ देखिएको र पिसीआर रिपोर्ट भने भोलि मात्र आउने बताइएको छ ।

तीन महिना अघि मजदुरीको लागि भारत पुगेका उनी मंगलबार बिहान पोखरा आएको थाहा भएपछि क्वारेन्टिनमा राख्न खोज्दा भागेकाले नियन्त्रणमा लिई परीक्षण पश्चात महानगरको लेकसिटी अस्पतालस्थित क्वारेन्टिनमा लगेर राखिएको वडाध्यक्ष रुद्रनाथ बरालले पोखरा न्यूजलाई बताए ।

प्रहरी डेरामा  पुग्दा भाग्न खोजेका बस्नेत कोरोना परीक्षण पश्चात पनि भाग्न प्रयास गरेकोले  नियन्त्रणमा राखेर क्वारेन्टिनमा पुर्याइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी यादव ढकालले जानकारी दिए ।

उनी झन्डै २ हप्ता लगायर भारतबाट नेपाल प्रवेश गरी तरकारी बोकेर आएको  गाडीमा पोखरा आइपुगेको बताइएको छ ।

महानगरको लेकसिटी अस्पतालस्थित क्वारेन्टिनमा आजमात्र उनीसहित  बिभिन्न स्थानबाट पोखरा छिरेका ७ जनालाई क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा अहिले २७ जना रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button