अमेरिकामा १ करोड जनामा कोरोना परीक्षण गर्दा १४ लाखमा संक्रमण पुष्टि

पोखरा न्यूज । अमेरिकाले करिब एक करोड जनाको कोरोना परीक्षण गरेको छ । झन्डै  एक करोड परीक्षण गरिसक्दा त्यहाँ १४ लाख ८ हजार ६ सय ३६ जनामा  कोरोना संक्रमित पुष्टि भएको  छ ।

पछिल्लो विवरण अनुसार अमेरिकाले कुल ९९ लाख ३५ हजार ७ सय २० जनाको परीक्षण गरेर सकेको हो । हाल त्यहाँ पिसिआर र एन्टीबडी परीक्षण गरि दुई तरिकाबाट संक्रमणको परीक्षण गरिरहेकोमा अब एन्टिजेन टेष्ट पनि शुरु गरिने बताइएको छ । यो टेष्ट अरु दुवै टेष्ट भन्दा निकै छिटो हुने जनाइएको छ ।

१५ मिनेटमै सम्पन्न हुने यो परीक्षणले लकडाउन खुकुलो पार्दै जाँदा निकै ठूलो संख्यामा परीक्षण गर्नु पर्ने अवस्थामा सहयोग पुर्याउने विश्वास लिइएको छ । मुख्य रुपका विद्यालय जस्ता अत्यधिक भीड हुने स्थान तथा कोरोनाका हटस्पटमा यो परीक्षण गर्ने योजना रहेको जनाइएको छ ।

हाल अमेरिकाले दैनिक २ देखि साढे २ लाख परीक्षण गर्दै आएको छ तर कोरोनाको संख्या दैनिक रुपमा उल्लेख्य रुपमा बढ्दै गर्दा त्यहाँका विज्ञहरुले दैनिक ७ देखि १० लाख परीक्षण गर्नु पर्ने बताउँदै आएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ८३ हजार ४ सय २५ ले ज्यान गुमाइसकेका छन् जुन विश्वमै सबैभन्दा धेरै हो ।

अमेरिका पछि दोस्रो धेरै परीक्षण रुसले गरेको छ जहाँ हालसम्म ५८ लाख भन्दा बढीको परीक्षण गरिसकिएको छ । त्यस्तै जर्मनीले २७ लाख, इटालीले २६ लाख तथा स्पेनले २४ लाख बढी परीक्षण गरिसकेका छन् । नेपालमा पनि ७६ हजार बढीको परीक्षण गरिसकेको बताइए पनि लगभग एक चौथाई मात्र विश्वासिलो पिसिआर परीक्षण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button