कतारमा कोरोना संक्रमितको संख्या २८ हजार नाघ्यो

तिलु शर्मा पौडेल, कतार । वैदेशिक रोजगारी अन्तर्गत नेपालीहरूको प्रमुख गन्तव्य तथा आकर्षणको केन्द्र रहेको दोहा कतारमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २८ हजार क्रस गरेको छ । यहाँ  विगत एक सातादेखी सङ्क्रमितको सङ्ख्या निकै उच्च सङ्ख्यामा बढिरहेको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार थप ४ हजार ८ सय ११ जनामा टेष्ट गर्दा १ हजार ७ सय ३३ जना कोरोना सङ्क्रमित फेला परेको  जनाएको छ l

कतारमा हालसम्म  सङ्क्रमितको  सङ्ख्या २८ हजार २ सय ७२ पुगेको छ । कूल सङ्क्रमित मध्ये हाल २४ हजार ९ सय २ जना उपचारका क्रममा रहेका छन् । कतारमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या  १४ पुगेको  छ l

नयाँ २ सय १३ जना सहित स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ३ हजार ३ सय ५६ पुगेको छ । कतारमा अहिलेसम्म  जम्मा १ लाख ४३ हजार ९ सय ३८ जनामा परीक्षण गरिएको छ । पछिल्लो समय देखिएका संक्रमितहरुमा  स्थानीय नागरिकसहित आप्रवासी कामदार रहेको जनाइएको छ ।

यस सँगै कतारमा  मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ । आउँदो आइतबार अर्थात् १७ मे २०२० बाट आफ्नो क्याम्प अथवा निवासबाट बाहिर निस्कँदा मास्क अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । तर एकल रूपमा सवारी साधन चलाउँदा भने यो अनिवार्य छैन ।

यस नियमको उलङ्घन गरेको पाइएमा सन् १९९० को कानुन नम्बर १७ बमोजिम सरुवा रोग निवारण तथा रोकथाम सम्बन्धीको नियमानुसार ३ वर्ष सम्म कैद सजाय र अधिकतम २ लाख कतारी रियाल सम्म जरिवाना हुने बताइएको छ ।

कतारमा नेपालीहरू पनि कोरोनाबाट सङ्क्रमित रहेको बताइएपनि कति संक्रमित छन्  भन्ने  तथ्यांक सार्वजनिक गरिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button