बागलुङमा कोरोना कहरबीच डेंगुको डर

रामबहादुर थापा, बागलुङ । कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेंगु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ ।

डेंगु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–८ की २३ वर्षीया युवतीमा शुक्रबार डेंगु लागेको पुष्टि भएको छ ।

“बिरामीमा शङ्कास्पद लक्षण देखिएपछि जाँच गर्दा डेंगुको सङ्क्रमण भेटियो”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने । सङ्क्रमित युवती गत सोमबार अस्पताल भर्ना भएकी थिइन ।

युवतीको अवस्था स्थिर रहेको र थप जाँच गरिने प्रमुख चिकित्सक पोखरेलले बताए । उनले गर्मी बढेसँगै डेंगुको जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा आग्रह गरे  । “लामुखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरौँ”, उनले भने ।

सो जातको लामखुट्टले दिउँसो मात्र टोक्ने भएकाले बाहिर हिँडडुल गर्दा लामो बाहुला भएको लुगा लगाउन, पानी जम्ने पुराना भाँडाकुँडा, ड्रम, टायर आदिलाई घर छेउछाउ नराख्न सुझाव दिए ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले शुक्रबार फेला परेको सङ्क्रमण यो वर्षको पहिलो भएको उल्लेख गरे । उनका अनुसार गत वर्ष जिल्लाका १० जना व्यक्तिमा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

“सङ्क्रमित भेटिएको ठाउँमा ‘खोज र नष्ट’ गर अभियान सञ्चालन हुँदैछ, सम्बन्धित स्थानीय तह र स्वास्थ्यचौकीसँग समन्वय भइरहेको छ”, प्रमुख गुरौले भने  । लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने उनको भनाइ छ ।

उनले डेंगु फैलिन नदिन घर तथा बसोबास क्षेत्रको सरफाइमा विशेष ध्यान दिनुपर्ने बताए । डेंगुविरुद्धको अभियानमा स्थानीय तहको भूमिका र पहल महत्वपूर्ण हुने प्रमुख गुरौको भनाइ छ । स्वास्थ्य कार्यालयले गत वर्ष पनि सदरमुकामलगायतका ठाउँमा ‘माइकिङ’, सन्देशमूलक पर्चा वितरणदेखि सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम गरेको थियो ।

डेंगुको परीक्षण सेवा धवलागिरि अस्पतालमा मात्र उपलब्ध छ । शङ्कास्पद देखिएका व्यक्तिमा डेंगु परीक्षण हुँदै आएको छ । डेंगु जाँचका लागि परीक्षण किटको अभाव नरहेको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेंगुको खास उपचार नभएकाले लक्षणअनुसार औषधि चलाउने गरिन्छ । गत महिना छिमेकी जिल्ला म्याग्दीमा पनि डेंगु देखिएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button