लकडाउनका बीच पोखरा रंगशालामा काम, ५ महिनामा सबै काम सकिने

पोखरा । पोखरा रंगशाला फुटबल स्टेडियमको काम लकडाउनका बीच सुष्त गतिमा अघि बढेको छ ।  स्टेडियमको २०७५ साल चैतमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले २०७६ असार मसान्त सम्म सकिने गरि सिलान्याश गरेका थिए ।

नेपालमा गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुल (साग) सम्म पोखरा फुटबल स्टेडियम पुरा गर्ने लक्ष्य लिए पनि कोभिड १९ का कारण पुनः अवरोध आएको छ । यहि अवरोधका विच पनि निर्माण कम्पनी भारत र नेपालको जोइन्ट भेन्चर निर्माण कम्पनीले काम सक्न तिव्रता दिए पनि निर्माण मजदुर र प्राविधिक उपलव्ध नभएका कारण काममा सुष्तता आएको हो ।

स्टेडियमको प्यारापिट मध्ये १६ हजार ५ सय सिट जडान भइसकेको प्रोजेक्ट म्यानेजर दिपक बरालले बताए । उनले भने–“प्यारापिटमा जडान हुने भनिएका १६ हजार ५ सय सिट जडान भइसकेका छन” उनले थपे–“प्रि इन्जिनियरिङ्ग विल्डिङ्गको कामले गर्दा हामीलाई समस्या परेको छ ।” स्टेडियमको पश्चिम तर्फ भिआइपी सिट मध्येको छाना, चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगाएतको काम लक डाउनका कारण अलपत्र परेको छ ।

प्रि इन्जिनियरिङ्ग विल्डिङ स्टेडियमको मुख्य काम मध्येको एक रहेको र लक डाउनका कारण भारतिय ‘टेक्निकल’ टिमका व्यक्तिहरु फिर्ता भइसकेकोले काममा अन्यौलता आएको प्रोजेक्ट म्यानेजर बरालको भनाई छ । “हामीले उक्त कम्पनीका मुख्य व्यक्तीलाई यस बारे भनिसकेका छौैं, उनले अनलाइन मार्फत भए पनि यहाँका प्राविधिकलाई काम सिकाएर काम सक्ने प्रयास भइरहेको छ” उनले थपे–“उता (भारत)का प्राविधिकहरुलाई पनि कम्पनीले खोजी गरिरहेको छ भने हामी पनि यता काम जान्ने नेपाली प्राविधिकहरुको खोजीमा नै छौं, तर लक डाउनले समस्या भएको छ ।”

स्टेडियमको चारै तिरको पिच समेत काम बाँकी रहेको छ भने १७ वटा शौचालयको ढलानको काम सकिए पनि ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम अलपत्र रहेको छ । लकडाउन अघि भारतिय मजदुरहरुले काम गरिरहेका भए पनि यो समयमा ति मजदुरहरु भारत फर्किसकेकोले अव नेपाली निर्माण मजदुरहरुको खोजीमा रहेको प्रोजेक्ट म्यानेजर बरालले बताए ।

राष्ट्रिय खेलकुद परिषदले नवनिर्मित फुटबल स्टेडियमको दर्शक क्षमता २० हजार पुर्याउने लक्ष्य लिए संगै स्टेडियमको पुर्वी भागमा थप २ हजार २ सय र अन्य भागमा सिट जडान गर्न निर्माण कम्पनीले काम थालेको छ । पुर्व तर्फ भने ढलान सहितको भाग रहने भएकोले राखेप बाट थप वजेट निकासा र स्विकृतीका लागि कम्पनीले पर्खिरहेको प्रोजेक्ट म्यानेजर बरालले बताए । उनले भने–“हामी परिषदको स्वीकृति लागि पर्खिरहेका छौं, स्विकृती पाए काम थाल्ने तयारी गरे पनि अझै के हुने हो केही भन्न सकिने अवस्था छैन ।” परिषदले स्वीकृति दिएमा काम सक्न ५ महिना थप लाग्ने उनले बताए ।

रंगशालाको लागि फ्रान्स बाट आयात हुने सामाग्री मध्ये ४ प्रतिशत मात्रै आउन बाँकी रहेको जानकारी दिदै बरालले कोभिड १९ का कारण जारी लक डाउनले अहिलेको काम सक्न पनि अझै तिन महिना लाग्न सक्ने बताए । उनले भने–“काम सक्न हामीले निकै प्रयास गरिरहेका छौं, तर आवश्यक प्राविधिक र निर्माण मजदुरहरु समयमा उपलव्ध नहुँदा समस्या थपिएको छ ।” तर पनि कम्पनीले जिम्मा पाएको ९० प्रतिशत काम सकिएको उनले दावी गरे । करिव १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको पोखरा फुटबल स्टेडियम विविध कारणले निर्माण कार्य एक वर्ष धकेलिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button