नेपालको भूमि फिर्ता ल्याउनकै लागि नक्सा जारी गरेका हौँ : प्रधानमन्त्री

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरासहितको नेपाली नक्सा जारी गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको आफ्नै भूभाग रहेको प्रष्ट पार्दै तमासा र देखाउनका लागि मात्र नभई यथार्थमा फिर्ता ल्याउनका लागि  नक्शा जारी गरिएको बताए ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा नेपालको तर्फबाट कुनै प्रकारको विवाद नरहेको जनाउदै भारतले बेकारको ‘अकुपाइ’ गरेर विवाद बनाएको उल्लेख गरे। “हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।”

प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन लागि मात्र  नक्सा जारी नगरिएको स्पष्ट पारे । सरकारले अतिक्रमित भूभाग फिर्ता ल्याएरै छाड्ने दावी गर्दै प्रधानमन्त्री ओलीले नयाँ नक्सा पारित गर्ने कार्य  त्यसकै एक प्रक्रिया भएको बताए । उनले  भने, “नक्सा पारित तमासा गरिएको होइन, देखावटी गरिएको होइन । फिर्ता लिनका लागि गरिएको हो ।”

नेपालको  तर्फबाट वि.सं. २०१८ सालसम्म कालापानीदेखि लिम्पियाधुरासम्म जनगणना गर्ने, तिरो तिर्ने काम भइरहेको जिकिर गर्दै उनले  त्यसपछि तिरो तिर्ने तथा त्यस क्षेत्रमा प्रवेश गर्ने कार्यमा  भारतीय पक्षबाट अवरोध भएको बताए । तत्कालीन शासकहरुले देशको चाँसोको सो बिषयमा चासो नराखेका कारण उक्त विषय ओझेलमा परेको आरोपसमेत लगाए ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको प्रतीक चिन्ह परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा ल्याइने प्रधानमन्त्री ओलीले जानकारी दिए ।

अहिलेको अवस्थामा नेपालको भूमि फिर्ता ल्याउने विषय महत्वपुर्ण रहेको जनाउदै प्रधानमन्त्री ओलीले  संविधान संशोधनको   प्रस्ताव पारित हुने र पारित भएको दिन सबैले दिपावली मनाउने समेत विश्वास व्यक्त गरे।

मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सा सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने प्रधानमन्त्रीले  स्पष्ट  पारे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button