पोखरा स्थित कमलपोखरीको संरक्षणका लागि पहल हुँदै

जमुना वर्षा शर्मा, चिप्लेढुङ्गा । पोखरा महानगरपालिका–१३ मा अवस्थित कमलपोखरी यतिबेला कमलका बोटले ढाकेको छ । फुल्दै गरेका कमलफूलले तालको नामजस्तै पहिचान दिलाएको छ । तालैतालको शहरका रुपमा रहेको पोखरामा नौ तालमध्येको एक हो कमलपोखरी । पर्याप्त संरक्षण र प्रचारप्रसारको अभावमा यो सुन्दर ताल गुमनाम जस्तै छ ।

करीब ३२ रोपनी क्षेत्रफको यसलाई ३५/३६ वर्षअघि बुडुवा तालका रुपमा चिनिन्थ्यो । ढकमक्क फुल्ने कमल, विभिन्न जातका माछा, पानी हाँस, रङ्गीविरङ्गी चराहरु तालको विशेषता हुन् । संरक्षण र सम्भार नहुँदा भने धेरै कुरा यहाँबाट हराइसकेको छ ।

रामसारमा सूचीकृत यसको बीचमा नागको मूर्ति छ । यहाँ नागपञ्चमीका दिन मेला लाग्छ । तालमा रहेको कमललाई नागपञ्चमीमा पूजा गरेर कमलको फूलपात घरमा लगेर राखेमा राम्रो फल हुने जनविश्वास छ । तालको वरिपरि विश्वकर्मा समुदायको बाहुल्यता रहेकाले ताल संरक्षणको पहल पनि यसै समुदायबाट भएको देखिन्छ । तालको किनारमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर र सँगै दुईवटा पाटी छन् ।

कमलपोखरी संरक्षण समितिका अध्यक्ष चित्रबहादुर विश्वकर्माले तालको अस्तित्व रक्षाका लागि विश्वकर्मा समुदायको ठूलो योगदान रहेको बताए  । “परापूर्वकालदेखि रहिआएको ताल दिनप्रति खुुम्चँदै जाँदा विश्वकर्मा समुदायले नै अगुवाइ गरेर ताल संरक्षण लागिपरेका छन् अहिले पनि निरन्तर यसको संरक्षणमा जुटेका छन्”, विश्वकर्माले भने, “ २०४८ सालमा आमा समूहमार्फत संरक्षण पहल भएको र २०६४ सालबाट ताल संरक्षण समिति गठन गरेर वरिपरि तारजाली लगाएर आधिकारिक सीमाङ्कनको विषयमा पहल गरिरहेका छौँ ।”

तस्बिर : जमुना वर्षा शर्मा

उनले भने, “२०४२ को नापीले ३२ रोपनी भन्यो, पछि २०६४ सालमा राष्ट्रिय ताल संरक्षण समितिले जङ्गललाई समेटेर एक सय ८२ रोपनी भन्यो । तालको जग्गाबारे अन्योल रहेको विषयमा महानगरलाई जानकारी गराइरहेका छौं  ।” आधिकारिक जग्गा पत्ता लगाएर सीमाङ्कनपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए ।

उक्त वडाका वडाध्यक्ष दर्शन लामाले ताल संरक्षण र पूर्वाधार विकासका लागि ४० लाखको टेन्डर आह्वान भइसकेको र काम अघि बढेको बताए । “निर्वाचित जनप्रतिनिधि आएपछि यसको संरक्षण र विकासका लागि पहल भएको छ, बन्दाबन्दीले अहिले काम हुन सकेका छैन, सुन्दर पार्क बनाउने गुरुयोजनामा समेटिएको छ”, लामाले भने ।

उनले तालको प्रवेशद्वार आकर्षक बनाउने, तालसम्मको बाटोलाई व्यवस्थित गर्ने र सबैलाई समावेश गरेर सबैको अपनत्व हुने गरी अघि बढ्ने प्रयास भएको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button