काठमाण्डौ । गुल्मीका कोरोना संक्रमितको आईसीयू कक्षमा उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणका कारण तेस्रो व्यक्तिको मृत्यु भन्दै उनलाई जोडेर केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनि जीवितै रहेको र भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
उपचाररत विरामीलाई गलत ढंगले प्रचार गरी मृत्यु भएको भनेर गलत प्रचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्तिमार्फत उनको अवस्था भने गम्भीर रहेको जनाएको छ । उनि एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
अस्पतालमा उपचारको क्रममा उनमा कोरोनाको आशंका पछि वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा जेठ ५ गते सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालले उनको अवस्थाबारे सञ्चारमाध्यम तथा सामाजिक संजालमा निरन्तर भ्रामक र अतिरन्जित समाचार आएको र त्यस्तो कार्यले सर्वासाधरणमा त्रास फैलिएको भन्दै अस्पतालले त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ ।