कास्कीमा जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार घोषणा

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । चलचित्र पत्रकारिता दिवस तथा २१ औं वार्षिकोत्सवको अवसर पारेर संघले बुधबार पुरस्कारको घोषणा गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहने चलचित्र पत्रकार संघ कास्कीले जनाएको छ ।

‘जेठ ७ गते बुधबार नै एक कार्यक्रम गरी पत्रकारिता दिवस मनाउने र पुरस्कार वितरण कार्यक्रम गर्ने हाम्रो योजना थियो । तर कोरोनाका कारण मुलुकमा भैरहेको लकडाउनका कारण कार्यक्रम गर्न असमर्थ भयौ । चलचित्र पत्रकारिता दिवसकै अवसर पारेर हामीले सो पुरस्कार प्रदान गर्ने घोषणा गरेका हौँ ।’, चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने । उनका अनुसार सो पुरस्कार गण्डकी प्रदेश भित्र कार्यरत पत्रकारितालाई मूल पेशा बनाई चलचित्र पत्रकारितामा कम्तिमा ५ वर्ष काम गरेका सक्रिय पत्रकार एक जनालाई प्रदान गरिनेछ ।

पोखराको चलचित्र उद्योगलाई गति दिन जितप्रसाद द्वाको उल्लेखिय योगदान छ । द्वा पोखरामा चलचित्र हल र चलचित्र छायाँकनका लागि आवश्यक पूर्वाधारयुक्त स्टुडियो निर्माणसँगै नेपालभर चलचित्र वितरण गर्ने अग्रणी संस्था एफडीका संचालक हुन् । द्वाको योगदानलाई पत्रकारिताको माध्यमबाट चिरकाल सम्म स्मरण गर्न र चलचित्र र चलचित्रसँग सम्बन्धित पत्रकारिताप्रति पु¥याएको योगदानलाई कदर गर्न उनको परिवार र चलचित्र पत्रकार संघ नेपाल कास्कीको अग्रसरतामा पुरस्कारको घोषणा भएको हो ।

दिवसकै अवसर पारेर  चलचित्र पत्रकार संघ कास्कीले आफ्नो  अफिसियल वेबसाइट एफजेए कास्की डट कम (www.fjakaski.com) सार्वजनिक गरेको छ ।

कार्यक्रममा निर्वतमान अध्यक्ष रेम बिक, सचिव प्रभु अधिकारी, कोषाध्यक्ष अर्पण तिवारी, सह-सचिव सन्तोष बस्याल, सदस्यहरु विनिता सुनार, आशिष पुरी, मिलन थापा लगायतको उपस्थिति थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button