गुरुङ चलचित्रको २५ वर्ष

पोखरा । गत बैशाखबाट गुरुङ चलचित्रले २५ वर्ष पुरा गरेको छ । गुरुङ चलचित्र निर्माण भइरहँदा दिन प्रतिदिन गुरुङ चलचित्रको लागत समेत बढ्दैछ । तर यस्ता चलचित्र आफ्नै सुमदायमा मात्र सिमित हुँदा लगानी उठाउन मुस्किल भएको छ । त्यतिमात्र नभएर यसरी निर्माण भएका चलचित्रको गुणस्तरको बारेमा स्वंम चलचित्रकर्मीहरु सन्तुष्ट छैनन् । सोही कारण चलचित्र निर्माण हुने क्रममा हस आएको छ । जसको पुष्टि २०७६ सालमा गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)मा दर्ता हुने चलचित्रको संख्या बाट हुन्छ ।

वर्ष २०७६ मा जिफानमा मनकाशी, फिच्यो, शिरसुबा, ङ्हेल्स्यो, ह्रोसै कर्म गरी जम्मा पाँच चलचित्र दर्ता भए । यो अघिल्लो वर्ष २०७५ को तुलनामा ५० प्रतिशत हस हो । अघिल्लो वर्ष १० चलचित्र जिफानमा दर्ता भएका थिए । प्रर्दशनको हिसाबले समेत गुरुङ चलचित्रका लागि वर्ष २०७६ सुखद हुन सकेन । २०७६ बैशाख ७ गते चलचित्र म्ले क्यु चलचित्र प्रर्दशन भएको थियो । त्यसपछि फुङ, फुच्यो, मि न्होर्बै ट र पजे गोरे चलचित्र प्रर्दशन भए । केहि चलचित्र प्रर्दशनको क्रममा भएपनि विश्वभरी फैलिएको कोभिड १९ महामारीका कारण केहि प्रर्दशनको तयारीमा रहेका चलचित्रको प्रर्दशन मिति स्थगित भएको जिफानले जनाएको छ ।

हाल गुरुङ चलचित्रको लगानी ४० लाख नाघ्न थालिसक्यो । लगानी अझै बढ्दैछ । लगानीको तुलनामा दर्शकको संखया घट्दै छ । किनकी अहिलेसम्मपनि गुरुङ चलचित्र च्यारिटि सो को भरमा अगाडि बढेको छ । यसरी प्रर्दशन गर्ने बाध्यताले चलचित्रमा गरेको लगानी उठाउन निर्मातालाई फलामको चिउरा चपाउनु सरह हुन थालिसक्यो । नियमित हलको व्यवस्था नहुँदा चलचित्रमा गरेको लगानी उठाउन निकै मुस्किल छ । यसका निश्चित दर्शक छन् । स्रोत, साधन, दर्शक सिमित छन् । सिमितताका बिच गुरुङ चलचित्र अगाडि बढीरहेको छ । मुलधारका नेपाली चलचित्रसँग प्रतिष्पर्धा गरी आफ्नो उपस्थिती दरिलो पार्नुपर्ने अवस्था अहिलेको आवश्यकता हो । तर गुरुङ चलचित्र एक आपसमानै भिड्ने गरेका छन् । यसको कारण समेत दर्शकको संख्या र आम्दानी घट्दै गएको छ ।

गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष भोज बहादुर गुरुङ अब गैर गुरुङले पनि गुरुङ चलचित्रलाई हेर्ने अवस्था सिर्जना गर्दै अगाडि बढ्ने बताउँछन् । ‘गुरुङ चलचित्रको बजार फराकिलो पार्नुपर्छ, जसको लागि गुरुङ मात्र हैन गैर गुरुङलाई पनि गुरुङ चलचित्र तर्फ आर्कषित गर्नुपर्नेछ’ उनले भने । स्पोन्सर खोज्ने र भिआइपिलाई चलचित्र हेराएर लगानी असुल्ने परपाटीको अन्त्य गर्दै अन्य नेपाली चलचित्र झै गुरुङ चलचित्रलाई पनि नियमित हलमा प्रर्दशन गरी यसतर्फको चार्म बढाउने अभियानमा आफु जुट्ने उनले बताए ।

जिफानले अब चलचित्रकर्मीको वृत्ति विकासमा बढी ध्यान दिने उनको भनाई छ । अध्यक्ष गुरुङ भन्छन्–‘गुरुङ गीत संगीत, लेखक रचनाकार बढी चर्चित बनेको देखिन्छ । यहाँ आयोजना हुने मेला, महहोत्सव, दोहोरी साँझमा गुरुङ गीत घन्किन्छ । यसरी हेर्दा चलचित्रकर्मी तुलनात्मक रुपमा गीतसंगीत भन्दा पछाडी परेको महशुस भएको छ । हामीले चलचित्रमा मौलिकता दिन सकेनौ, नक्कलको कारण गुणस्तरमा कमी आयो, त्यसकारण अब धेरै चलचित्र निर्माण नगरी, संख्यामा कम तर सबैलाई मनपर्ने अर्गानिक चलचित्र निर्माण गरिने योजना छ, त्यसको लागि जिफानले छलफल, कार्यशाला लगायतका चलचित्रकर्मीको वृत्ति विकासका लागि कार्य गर्नेछ ।’

२५ वर्षको अवधिमा गुरुङ फिल्म एशोसिएसनमा दर्ता भएका चलचित्रको संख्या १ सय ४३ पुगिसकेको छ । केहि चलचित्र जिफानमा दर्ता भएपनि निर्माण नभएका पनि छन् । केहि चलचित्र भने जिफान दर्ता नभएका पनि छन् । २०५२ सालमा ‘पाते’ चलचित्रबाट गुरुङ चलचित्रको निर्माण आरम्भ भएको थियो ।

गुरुङ चलचित्र तथा यसको बजारलाई विस्तार गर्न जिफानले सकारात्मक भुमिका खेलिरहेको छ । गुरुङ फिल्म एशोसिएसन नेपालको केन्द्रिय कार्यालय पोखरामा छ । जिफानका शाखा कास्की, लमजुङ, रुपन्देही, स्याङ्गजा, तनहुँ, काठमाण्डौको साथमा हङकङ र जापानमा रहेको छ । शाखा मार्फत पनि जिफानले आफ्ना गतिबिधिलाई बढाउदै गएको छ । केहि गुरुङ चलचित्रका कलाकारले नेपाली मुलधारका चलचित्रमा काम गर्दै आफ्नो प्रतिभा देखाइरहेका छन् ।

गुरुङ चलचित्र निर्देशक जसु गुरुङ पहिलाको तुलनामा गुरुङ चलचित्रको क्रेज घटेको स्विकारछिन् । ‘एउटा समय थियो गुरुङ चलचित्र हेर्न ओइरो लाग्थ्यो, अहिले त्यस्तो छैन, जुन ठाउँकाले चलचित्र निर्माण गरेका छन्, त्यो ठाउँकाले मात्र हेर्न चलन हाल देखिन थालेको छ, यो ठिक हैन, गुरुङ चलचित्र गुरुङ समुदायले मात्र नभएर सबै नेपालीले हेर्नुपर्छ, हेर्ने बनाउनुपर्छ’ गुरुङ फिल्म एशोसिएसन नेपालको पूर्व उपाध्यक्ष समेत रहेकी जसुले भनिन् । चलचित्रमा भाषा बाधक नहुने भन्दै हलिउड, बलिउड चलचित्र हेरे झै सबै नेपालीले गुरुङ चलचित्रलाई हेनुपर्ने उनले बताइन् । यस्ता चलचित्र देशको सम्पत्ति भएको उनको तर्क छ ।
गुरुङ चलचित्रकर्मी बालकाशी गुरुङ स्वतस्फुर्त रुपमा टिकट किनेर गुरुङ चलचित्र हेर्नेहरुको कमी भएको बताउँछिन् । ‘अहिलेपनि स्वतस्फुर्त रुपमाटिकट काटेर हेर्ने चलन छैन, घरमा गएर टिकट विक्रि गर्नुपर्ने बाध्यता छ, टिकट आए जाने नआए के जाने भन्नेछ, अब हामिले हलसम्म दर्शक आउने बनाउनुपर्छ’ उनले भनिन् ।

गुरुङ चलचित्रको प्राविधिक समेत रहेकी उनले प्राविधिक रुपमा समेत सन्तुष्ट हुने अवस्थामा नरहेको बताउँछिन् । ‘अहिलेको नयाँ टेक्नोलोजीको प्रयोग गर्न सक्ने प्राविधिक जनशक्ति छ, तर त्यसको लागि लगानीको कुरा आउँछ, लगानीको कारण भएको प्रविधिको पूर्ण रुपमा प्रयोग गर्न सकिएको छैन, किनकी गुरुङ चलचित्रको निर्माता सिमित हुनुहुन्छ’ उनले थपिन् ।

झण्डै २ सय जना कलाकार तथा प्राविधिकको रोजिरोटी बनेको छ गुरुङ चलचित्र । केहि स्तरिय चलचित्रले देश तथा विदेशमा प्रर्दशन हुदै लगानीसँगै नाफा कमाउन सफल बनेका छन् । केहि गायक गायिका गुरुङ गीत संगीत मार्फत देश विदेशका कार्यक्रममा व्यस्त समेत बनेका छन् । गुरुङ कलाकार र चलचित्र प्रति गुरुङ समुदायको अथाह माया छ । तरपनि अझसम्म पनि गुरुङ चलचित्र नियमित प्रर्दशन हुन भने सकिरहेका छैनन् । यसको मुख्य कारण झन्झटिलो सेन्सर प्रकृया, समयमा हल नपाउने, गुणस्तरिय चलचित्र कम बन्नु अनि नेपाली चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने चुनौती रहेको गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउँछन् । ‘जिफानले नियमित प्रर्दशन गर्न रोक लगाएको छैन, निर्माता निर्देशकले चाहेको अवस्थामा गर्न सक्छन्, केहि चलचित्रमा प्रयोग हामीले गरिसक्यौ’ माओत्सेले भने ।

गुरुङ चलचित्रको रजत जयन्तीको अवसरमा गत बैशाख २३ गते गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोभिढ १९ रोकथाम कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको थियो । २०५२ साल बैशाख २३ गते रोधी परिवार काठमाण्डौले पहिलो गुरुङ चलचित्र पातेको शुभ मुर्हत गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button