कतारमा कोरोना संक्रमण वृद्धि सँगै निको हुनेको संख्या पनि बढ्दै

तिलु शर्मा पौडेल, कतार । कतारमा आज सम्मकै उच्च सङ्ख्यामा कोरोनाका बिरामीहरूले स्वास्थ्य लाभ गरेका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६६ जनाले स्वास्थ्य लाभ गरेका हुन् । यो  सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या  कतारमा ६ हजार ६ सय पुगेको छ ।

कतारमा पछिल्लो २४ घन्टामा  ६२ वर्षीय एक आप्रवासीको कोरोनाको कारण मृत्यु भएको छ ।  कतारमा  कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । हालसम्म कतारमा  सङ्क्रमितको सङ्ख्या ३७ हजार ९७ पुगेको छ ।

संक्रमित  मध्ये १ हजार ५ सय ७८ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेनटिनमा राखिएको छ भने २ सय ७० जनालाई अस्पताल भर्ना गरिएको छ । कतारमा थप  १७ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या १ सय ७२ पुगेको छ ।

यहाँ  कुल ३० हजार ४८१ जनाको उपचार चलिरहेको छ। नयाँ  भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा केही नेपालीहरु सङ्क्रमित रहेको पाइए पनि कति संख्यामा संक्रमित छन् भन्ने बारे खुलाइएको छैन ।

यहाँ आजसम्म १ लाख ७० हजार ४ सय ३७ जनामा कोरोनाको परीक्षण गरिएको छ ।

यदि कसैको  स्वास्थ्यमा कुनै समस्या भए मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर स्वास्थ्यको परीक्षण गर्न सकिने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button