पोखरा । सञ्चार क्षेत्रमा क्रियाशिल सुरज बस्याल ‘सन्जोक’ आफैमा आशावादी सोच राख्ने व्यक्ति हुन् । नेपालमा २०७२ सालमा आएको महाभुकम्प पश्चात देखिएको दर्दनाक अवस्थाले उनको मनलाई कटक्क छोयो । उनी त्यतिबेला पोखरामा रहेर सञ्चार क्षेत्रमा क्रियाशिल थिए । सोही समयमा उनलाई एकजना साथीले गीतको लागि शब्द चाहियो भने । त्यतिबेला पिडा तथा वेदना समाबेश गरेर गीत आइरहेका थिए । अब पिडा र वेदनालाई बिर्सेर अगाडि बढ्ने खालको गीत पो आवश्यक छ भन्ने सन्जोकलाई लाग्थ्यो । किनकी पिडाबाट उठ्ने साहस सो समयमा आवश्यक थियो । शब्द कोर्न थाले । अनि रचना गरे ‘जित्छौ हामी’ गीत । तर गीत रेर्कड भएन । यसै थन्कियो । उनको सपना अधुरै रह्यो । पुरा हुन पाएन ।
यतिबेला पुनः कोरोना कहर र भारतले नेपाली भूमिमा गरेको हस्तक्षेपका कारण देश उस्तै चिन्तामा छ । सन्जोकलाई फेरि लाग्यो । यो समयमा नेपालीलाई हौसलाको खाँचो छ । गीतसंगीत प्रति रुचि राख्ने उनले सोचिरहन्थे यो समयमा मनमा उर्जा थपिने गीत कसैले ल्याए हुन्थ्यो । राजधानी काठमाण्डौमा रहेका उनको पोखरामा रहेका गायक विनोद वानियासँग भिडियोमा कुरा भइरहन्थ्यो । सन्जोकलाई पहिल्यै देखि लागको कुरा विनोदलाई फ्याट्ट भनिहाले ।
‘कोरोनाका कारण सबै आत्तिएका छन् यो बेला संगीतमा लाग्ने व्यक्तिले अलिकती इनर्जी दिने गीत बनाइदिए हुने हो । तपाई त गाउने, लेख्ने, संगीत भर्नेे मानिस एउटा गीत घरमै बसेर बनाउनुन हो’ सन्जोकले विनोदलाई भने । विनोदलाई पनि यो समयमा एउटा गीत गर्न पाए भन्ने लागेको रहेछ । ‘ठिकै छ नी म शब्द लेख्न लगाउछु कसैलाई’ विनोदले उत्तर दिए । त्यो बिचमा सन्जोकको दिमागमा आफुले पहिल्यै लेखेको गीतको याद आयो । त्यसलाई अर्काइभमा हेरे । ठिकै छ भन्ने लाग्यो । सामान्य सच्याएर गीत पठाइदिए ।
गीतको खोजीमा रहेका विनोदलाई सन्जोकको शब्द मनप¥यो । अनि बल्ल तयार भयो ‘जित्छौ हामी’ गीत । सन्जोकको ५ वर्ष अगाडि देखेको सपना अहिले साकार भयो । गीतको बारेमा सन्जोक भन्छन् ‘म आफै आशावादी मानिस हुँ । त्यसैले पनि यस्तो शब्द आए होलान् ।’ अरु केहि गीत रचना गरेका भएपनि सन्जोकको रेकर्ड भएको गीत यो नै पहिलो हो । गीत प्रति आएका सकारात्मक प्रतिक्रियाले अरु गीतलाई समेत जिवन्तता दिदै विस्तारै ल्याउने जोश उनमा पलाएको छ ।
गीतलाई उत्कृष्ट बनाउन भिडियोमा पनि उनीहरुले मेहनत गरेका छन् । ‘भिडियोमा शब्दले मागेको चिज दिने प्रयास गरिएको छ्, राजनीतिज्ञ, खेलाडी कलाकार विभिन्न पेशामा लागेकालाई राख्ने सोच हो । कतिले रेसपोन्स गरेनन् । जो–जसले रेसपोन्स गरे उनीहरुलाई राखियो’ उनले भने ।
अहिलेको अवस्थाका कारण भिडियोमा सोचेजती सबै गर्न असमर्थ भएपनि धेरै साथीले फुटेज सहयोग गर्दा भिडियो राम्रो बनेको उनले बताए । ‘यस्तो समय नभएको भए भिडियो अझै उत्कृष्ट बनाउन सक्थ्यौ । सोचेजस्तो टेक्निकल कुरा फुटेजहरु खिच्न जान बाहिर निस्कन जोखिम भएकोले समस्या भयो तर सबैको सहयोगमा केहि सहजता भयो ।’ उनले थपे ।
गायक वानिया पनि गीत प्रति आशावादी छन् । ‘कोरोनाले आजित भइरहेका थियौ । यो समयमा अरु साथीका गीत पनि आएका थिए । म गाउँछु अब भन्ने सोच्दै थिए । जस्तो अवस्थामा पनि सकारात्मक सन्देश दिने खालको गीतको खोजिमा हुँदै गर्दा सन्जोकबाट प्रस्ताव आयो अनि गीत तयार गरेउ’ उनले भने ।
गीत मात्र हैन भिडियो समेत राम्रो बनेको दावी उनी गर्छन् । ‘भिडियो बनाउँदा साह्रै दुःख पनि पाइयो । क्लिप्स खिच्न पनि मुस्किल, सबैलाई समेट्न सकिएन जति समेट्यौ हामी खुशी छौँ’ उनले थपे । गीतमा संगीत वानियालेनै भरेका छन् । गीतको एरेन्ज श्यामसुङ तामाङले गरेका छन् । मेन मिडियाको प्रस्तुतीमा गीत तयार भएको हो ।
गीतको म्युजिक भिडियोको निर्देशन सञ्जोक र विजय बस्यालले मिलेर गरेका छन् । भिडियोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय सभाकी सांसद कोमल वली, कवि तीर्थ श्रेष्ठ, कलाकार अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, दिया मास्के, राजबल्लभ कोइराला, कवि तथा लेखक सरस्वती प्रतिक्षा, फुटबल खेलाडी अनिल गुरुङ, भलिबल खेलाडी सिपोरा गुरुङ, मोडल निराजन प्रधान, मिलन शंकर, साहिल खान, सर्च प्रसाई, विजय बस्याल, सञ्जोक बस्याल, बाल कलाकार काव्य लक्ष्मी बानियाँ, स्यारोन श्रेष्ठ, स्वपनिल गायक, सियोना श्रेष्ठ, स्वर्णीम पौडेल सहितको अभिनयले ओजदार बनाएको छ ।
गीतमा डिओपी मिलन शंकरको छ भने ड्रोनमा सुरज श्रेष्ठ र कमल प्रसाईले साथ दिएका छन् । सविन गायक, बिनोद पोखरेल, कमल प्रसाई र विवेक बस्यालले भिडियो खिचेका हुन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तथा नेपाली भुमीलाई भारतले गरिरहेको अतिक्रमण यि दुवैलाई नेपालीले जित्न सक्छन् भन्ने सन्देश प्रवाह गीतमा गरिएको छ ।