स्याङ्जाका कोरोना संक्रमितलाई उपचारका लागि पोखरा ल्याइयो

पोखरा । स्याङ्जामा  कोरोना पुष्टि भएकी  एक महिलालाई उपचारका लागि  पोखरा ल्याइएको  छ ।

आज संक्रमण पुष्टि भएकी  स्याङ्जाकी ३९ वर्षकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पोखरा न्यूजलाई जानकारी दिए ।

निर्देशक आचार्यले भने – ” उहालाई भर्खर मात्र अस्पतालमा झारिएको छ, आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिरहेका छौ ।”

आज स्याङ्जामा  संक्रमण पुष्टि भएका मध्ये वालिङका २ जना पुरुषको  जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको र १ जना महिलालाई पोखरा ल्याइएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।  “जिल्ला अस्पतालमा उपचाररत सबै पुरुषहरु हुनुहुन्छ, त्यहाँ महिलाका लागि छुट्टै आइसोलेसन नभएकाले  पोखरा ल्याइएको हो” – निर्देशक शर्माले भने । निर्देशक  शर्माका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज बिहान स्याङ्जा जिल्ला वालिङका २ जना पुरुष र १ जना महिला, तथा नवलपरासी बर्दघाट सुस्ता (पूर्व) का १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि मंगलबार मात्र सोहि स्थानका २९ र २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी प्रदेशको बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

बागलुङमा यस अघि भेटिएका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् भने नवलपुरका २ जना उपचाररत रहेको छन् । यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ् जिल्लाका भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button