तनहुँमा भारतबाट आउनेहरुमा कोरोना परीक्षण गर्न धमाधम स्वाब सङ्कलन

तनहुँ  । भारतका विभिन्न शहरबाट जिल्ला फर्किएकाहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको छ । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेकाहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलनलाई तीव्र पारिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दमौली अस्पतालका तीन स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलनका लागि पठाउने गरेको छ । प्रत्येक स्थानीय तहमा दमौली अस्पतालकै स्वास्थ्यकर्मी गएर स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । “सबै स्थानीय तहका स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गर्न जानेका छैनन्, दमौलीबाटै स्वास्थ्यकर्मी गएर स्वाब सङ्कलन गर्ने गरिएको छ”, अधिकारीले भने, “दमौलीबाट गएका स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलन गर्ने तरिका पनि सिकाउँछन् ।”

उनका अनुसार आँबुखैरेनीमा त्यहीको स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गर्छन् भने शुक्लागण्डकी र बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मीलाई यसबारेमा जानकारी दिइएको छ ।

भारतबाट आएर व्यास नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका ५४ जनाको स्वाब सङ्कलन गरिएको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा रहेका एक महिला र ५३ पुरुष गरी ५४ को स्वाब सङ्कलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

उक्त क्वारेन्टिनमा ७५ जना छन् । त्यस्तै व्यास नगरपालिका–४ स्थित मदरसा आधारभूत विद्यालयको क्वारेन्टिनमा १७ जना छन् । उनीहरू सबै भारतबाट आएका हुन् । जिल्लामा हालसम्म २६७ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा १८० जनाको रिपोर्ट नगेटिभ आएको छ ।

मङ्गलबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएका म्याग्दे गाउँपालिकाका २५, बन्दीपुर गाउँपालिकाका नौ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । देवघाट गाउँपालिकाका १४, शुक्लागण्डकी नगरपालिकाका ३९ र भीमाद नगरपालिकाका ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दश स्थानीय तहका क्वारेन्टिनमा आजसम्म ४ सय १९ जना पुगेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button