अर्थमन्त्रीलाई अनलाइन/भर्चुअल कक्षाबारे चिठी

अर्थमन्त्री ज्यू नमस्कार !

अनलाइन तथा भर्चुअल मिटिंग बाट १ बर्षको बजेट बनाउदा र बजेट भाषण गर्दा थाक्नु भएको होला आराम पनि गर्नु पर्यो है । हजुरको आरामलाइ केहि असर नपर्ने गरि आराम गर्दै सुतेरै भएपनि मोबाइलमा पढ्न मिल्ने गरि सानो सन्देश लेख्ने सोच बनाए । आशा छ हजुर यो सन्देश पाउन सक्ने मोबाइल र इन्टरनेट दुवै सुबिधा भएको समूहमा पर्नुहुन्छ र हजुरको मोबाइलसम्म यो पुग्छ कि ?

मन्त्री ज्यू, धेरै भूमिका बाध्न चाहेन किनकि पढ्नेलेनी पुरा नपढ़लान र हजुरलाइ सुनाउनेले नी पुरा नसुनाउलान कि कुन्नि ? त्यसैले टु दि पोइन्ट जाम है त । आफु बोल्नु भन्दा पहिले हजुरकै बोलि बोल्न मन लग्यो । हैन–हैन लेख्न मन लाग्यो । आर्थिक बर्ष २०७७/७८ को बजेट भाषणमा हजुरले बोलेको यो बोलि यदि मैले भुलले फरक लेखेको भए माफ गरिदिनुहुनेछ र मिलाएर बुझीदिनु हुनेछ भन्ने विश्वास लिएको छु । “कोभिड १९ को कारण पठनपाठनमा सिर्जना भएको अबरोधलाई दृष्टिगत गरि भर्चुअल कक्षा संचालन, अनलाइन शिक्षा तथा टेलीभिजन एवम रेडियो मार्फत नया शैक्षिक बर्षको पठनपाठन अघि बढाइनेछ । संक्रमण जोखिमको कारण बिद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोच सहित सिर्जनसिलाता बिकासका क्रियाकलाप संचालन गरिनेछ ।” यो हजुर कै बोलि हो नी है?

यो सुन्दा एकदम मज्जा आयो मन्त्रि ज्यू र खुसि पनि लाग्यो । मज्जा यो कुरामा आयोकि सायद हाम्रो शिक्षा मन्त्रिज्यूले कोरोनाले देशको शिक्षामा पारेको असरको राम्रो अध्ययन गरि गज्जब सल्लाह दिनु भएछ कि हजुरलाई ? र खुसि यो कुरामा पनि लाग्यो कि बजारमा अब रेडियो, टेलीभिजन अनि इन्टरनेट बेच्नेका त दिन आउने भए ।

मन्त्री ज्यू, जनता संग एउटा तथ्यांक छ र यदि यो तथ्यांक सहि हो भने र हजुरले बनाएको बजेट तथ्यांकमा आधारित हो भने धेरैका दिन आउने कुरा पक्का भयो र अरुको आओस–नआओस, बिद्यार्थीका मात्र दिन आए पनि हामि धेरै खुसि हुने थियौ । हुनत नमरी स्वर्ग देखिदैन पनि भन्छन् । अनि फेरी कि पढेर हो कि परेर हो सिक्ने पनि भनेको सुनिन्छ । तर कता–कता नेपाल जस्तो देशमा एक्कासी अनलाइन तथा भर्चुअल कक्षाको कुरा सुन्दा जब पर्यो राति तब बुढी ताती भन्ने उखान सत्य साबित हुन खोज्दैछ जस्तो लाग्यो । सायद मलाइ मात्र लागेको होइन होला ।

खैर छोडौ यो कुरा अनि लागौ तथ्यांक तिर । राष्ट्रिय जनसंख्या र आवास जनगणना २०११ अनुसार नेपालमा ७.२८%घरधुरी वा परिवारमा मात्र कम्प्युटर छ । जबकि ३.३३% संग इन्टरनेट जडान छ । त्यस्तै रेडियो, टेलिभिजन र मोबाइल फोनको स्वामित्व क्रमशः ५०.८२%, ३६.४५% र ६४.६३% रहेको छ । हुन त २०११ पछी देश कहाँ देखि कहाँ पुगिसक्यो भन्ने कुरा आयो होला हजुरको विचारमा है ? २०११ पछि विश्वव्यापीकरण र टेक्नोलोजीमा विकासका कारण यी सुविधाहरूको स्वामित्व नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ तर शहरी र ग्रामीण क्षेत्रका वर्गहरूमा यी स्रोतहरूको वितरणमा असमानता अझै उच्च छ ।

वार्षिक घरेलु सर्वेक्षण २०१६/१७ ले देखाउँदछ कि कम्तिमा एउटा मोबाइल फोन हाल नेपालका ८८.४% घर परिवारले मात्र प्रयोग गरेको छ । टेलिभिजन ४४.८% घरहरूद्वारा प्रयोग गरिन्छ । यद्यपि, इन्टरनेट र ईमेलहरू विश्वव्यापी जानकारी पाउनको लागि सजिलो संचार माध्यम हो । तर हाल १२.७% घरधुरीले मात्र इन्टरनेट प्रयोग गर्छन् । हामी कसरी यस सन्दर्भमा भर्चुअल शिक्षा तिर अचानक परिवर्तन गर्न अपेक्षा गर्न सक्छौं ? यसले नेपाल जस्तो मुलुकमा अझ बढी चुनौतीहरू पार गर्नुपर्ने देखाउँछ । तथ्यांकले स्पष्ट रूपमा देखाउँदछ कि सबै विद्यार्थीहरूले इन्टरनेटमा पहुँच राख्न सक्दैनन् ।

माथिका तथ्यांकको आधारमा शहर/ग्रामिण क्षेत्रको अनुपात कति छ त्यो मैले यहा लेखिन । संदेश लामो होला कि भनेर । सक्नुहुन्छ भने हजुरको कर्मचारी मार्फत तथ्यांकको आधारमा शहर र ग्रामिण क्षेत्रको अनुपात कति छ एकपटक बुझ्ने प्रयास गरिदिनुहोला है बिन्ति छ ।
जति सजिलो काठमाडौंमा बस्ने अनि इमेल र इन्टरनेट बाट परीक्षा दिने बिद्यार्थीलाइ छ त्यो कर्णालीको बिकट गाउँमा बस्नेलाइ छैन । बजेट काठमाण्डौको अनलाइन तथा भर्चुअल मिटिंगबाट बनाउन सम्भब भयो भन्दैमा कर्णालीको बिकट गाउँको एउटा किसानले छोरा छोरीलाई इमेलको ‘ई’ मात्र पनि सिकाउन सक्ला भनेर दिवा सपना नदेख्नेपो हो कि ? किनकि शिक्षाको अधिकार सबैलाई बराबर नै छ होला संबिधानमा ।

बजेट भाषणमा कोरोना संक्रमण जोखिमको कारण बिद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोच सहित सिर्जनशिलता बिकासका क्रियाकलाप संचालन गरिनेछ भनेर भनि रहदा टर्च वाला टिक–टिके मोवाईल समाएर टावर खोज्दै हेलो–हेलो गर्दै डाँडा चढ्ने गाउँका साइला–काइँलाहरुलाई झन् मनोसामाजिक असर थुपार्दै त छैनौ हामी ?

एकद्वार प्रणाली भने जस्तै शहरमुखी एक नजर वाला भएर ठूला–ठुला कलेज र विश्वबिद्यालयको श्रोत, साधन र सुबिधा अनि उनीहरुको पठन/पठानलाइ मात्र आधारमानि बजेट भाषणमा सो कुरा बोल्नु भएको हो भने मलाइ भन्नु केहि छैन । तर यदि नेपालमा बिकट गाउँ पनि छन अनि घण्टौ हिडेर टिनको छानामुनि पढ्न जाने स्कुले बिद्यार्थी पनि छन् है भन्ने कुरामा बिश्वास छ भने अर्थमन्त्री ज्यू तपाइको बजेटले अनलाइन र भर्चुअल कक्षा संचालन गर्न एक घर एक रेडियो मात्र पनि पुर्‍याउन सक्छ ?

प्रविण शर्मा, पोखरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button