गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि, तनहुँमा पनि देखियो कोरोना

पोखरा ।  गण्डकी प्रदेशमा  थप ३ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका स्थित  क्वारेन्टाइनमा रहेका  २७ र ४० बर्षीय  २ जना पुरुष तथा तनहुँको  ऋषिङ गाउँपालिकाको  क्वारेन्टाइनमा रहेका २८ बर्षीय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमितहरुलाई  अहिले सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक  डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । गण्डकी प्रदेशमा तनहुँमा पहिलोपटक कोरोना देखिएको हो । तनहुँ थपिए सँगै प्रदेशमा कोरोना संक्रमण देखिने जिल्ला ६ पुगेको छ ।

यस अघि गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक शर्माले लमजुङका बालकलाई धादिङ जिल्लाको भनेर गलत सूचना दिदै आएको देखिएको छ । उनले केन्द्रको तथ्यांक गलत रहेको दावी गर्दै लमजुङका संक्रमितलाई धादिङ जिल्लाको  बताउदै आएका थिए भने नवलपुरमा संक्रमितको संख्या ५ मात्र रहेको सूचना दिदै आएका थिए ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ६ जना पुरुष तथा  २ महिला , स्याङ्जाका ६ जना पुरुष तथा  १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका  ५ जना  पुरुष तथा  १ महिला, लमजुङका  १ जना, म्याग्दीका  १ जना पुरुष  र तनहुँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका  २ जना महिला तथा लमजुङका १ बालक  निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button