पोखरामा कोरोना संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा गम्भीर लापरबाही

पोखरा । कोरोना संक्रमण पुष्टि भएका पर्वतका ३५ वर्षीय बिरामीलाई पोखराको कोरोना अस्पताल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजाने क्रममा गम्भीर लापरबाही गरिएको छ ।

मणिपाल अस्पतालमा उपचारको क्रममा  कोरोना पुष्टि भएका उनलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा पुर्याउने क्रममा लापरबाही भएको निर्देशक अर्जुन आचार्यले गुनासो गरे । उनलाई अस्पताल पुर्याउने क्रममा सामान्य विरामी सरह  सुरक्षाका कुनै  उपाए नअपनाइ अन्य मानिसहरु सँगै पठाइएको निर्देशक आचार्यले पोखरा न्यूजलाई बताए ।

कोरोना संक्रमितलाई अस्पतालको आइसोलेसनमा  ल्याउने क्रममा डेडीकेटेड एम्बुलेन्सको प्रयोग गरी व्यक्तिगत सुरक्षा कवच सहित सुरक्षित रुपमा लग्नुपर्नेमा सामान्य बिरामी सरह नर्मल एम्बुलेन्समा  लगिएको हो । हेड इन्जुरीका कारण ८ दिन अघि मात्र टाउकाको  शल्यक्रिया गरिएका उनमा हाडजोर्नीको समेत समस्या  रहेको बताउदै निर्देशक आचार्यले सम्बन्धित अस्पताल र स्वास्थ्य निर्देशनालाय लगायतका निकायले समन्वय नगरी बिरामी पठाउदा जोखिम  झन् बढेको जनाए ।

“टाउकाको  शल्यक्रिया भएको, हाडजोर्नीको शल्यक्रिया बाकीं नै रहेको  लेभल थ्री अस्पतालमा लग्नुपर्ने खालको बिरामीलाई असुरक्षित तबरबाट सिटिस्कान समेत नभएको हाम्रो अस्पतालमा पठाइएको छ, हामीसँग छलफल नगरी बिरामी र अन्यलाई समेत जोखिम बढाउने तवरले  काम गरियो”, निर्देशक आचार्य भने । उनलाई अहिले अस्पतालको आइसोलेसन वार्डको आईसीयूमा राखेर उपचार गर्ने तयारी गरिएको निर्देशक आचार्यले बताए ।

लेभल थ्री अस्पतालमा विशिष्टकृत शल्यक्रिया सेवालगवायत बहुबिशेषज्ञ सेवाहरु उपलब्ध हुन्छन भने  लेभल वान अस्पतालमा सामान्य केस र लेभल टु अस्पतालमा मध्यमस्तर तथा केही कडा समस्या भएका विरामीहरुको उपचार गर्ने गरिन्छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लेभल टु अस्पताल हो ।

यता प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र संयोजक नवराज शर्माले आफुहरुले संक्रमित बिरामी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएको थाहा पाएको तर कसरी अस्पतालमा ल्याइयो भन्ने जानकारी नभएको भन्दै निर्देशक आचार्यलाई नै सोध्न सुझाए ।  प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले  दिउसो  १:३० बजेमात्र सम्पूर्ण जानकारी दिनसक्ने बताए  ।

गत जेठ २२ गते सडक दुर्घटनामा परेर मणिपाल अस्पतालमा उपचार गराईरहेका उनमा  शुक्रवार कोरोना पुष्टि भएको  हो । उनको कुनै ट्राभल हिष्ट्री नभएको बताइएको छ ।

मणिपाल अस्पतालमा उपचाररत बिरामीमा संक्रमण भेटिएपछि न्युरो आईसीयूका सेवा बन्द गरी अस्पतालमा कार्यरत  नर्स, डाक्टर र बिरामीको वार्डमा सँगै रहेका अन्य बिरामीको पनि स्वाब लिइने तयारी गरिएको छ ।

पोखराको मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना पुष्टि

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button