पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार बेलुका भीषण वर्षासँगै आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोमा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको मृत्यु भएको हो ।

उनीहरुको शव शनिबार राति नै फेला परेको थियो । यस्तै आइतबार बिहान दीपा थापा र कमला विकको शव फेला परेको प्रहरीले जनाएको छ । थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । आइतबार बिहानदेखि पुनः उद्धारकार्य सुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार बेलुका ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशु चौपाया समेत मरेका छन् । रासस 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button