किसानलाई बाँदरले सताएर हैरान, कोसँग हारगुहार गर्नु !

तानसेन। पाल्पाका ग्रामीण क्षेत्रका किसानलाई बाँदरले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल र धपाउन बसेकालाई समेत आक्रमण समेत गर्न थालेको पछि उनीहरु हैरान परेका हुन् ।

जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जङ्गल नजीकका बस्तीमा बाँदर पसेर घरभित्रैबाट अन्न खान थालेको छ । रामपुर नगरपालिकाको खटाङखेत, भलायटार, प्याक्लुक, भुजात, आपचौर कटहरटार, एक्लेटार तथा सेराका खेतबारीमा बाँदरले अन्नबाली खाएर नोक्सान पार्ने गरेको बताइएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ का कृषक टीकाराम परियारको पाल्पाको रामपुर कालीगण्डकी किनारमा खेतबारी छ । बन्दाबन्दीले आवतजावत गर्न नपाउँदा खेतको मकै बाँदरले च्यात्न थालेको उनी बताउँछन् । “बिहान उज्यालो हुने बित्तिकै खेतमा बाँदर आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ”, उनले भने ।

रामपुर नगरपालिका–८ का महेश घिमिरेले अम्दाहा खेतमा लगाएको मकै बाँदरले नष्ट पारेको बताउँछन् । “हिउँदमा आलु जोगाउन मुस्किल, अहिले फेरि मकै, तरकारी र फलफूल जोगाउन मुस्किल भयो”, उनले भने, “बाँदरले मकै खाने तथा च्यातेर नष्ट पार्‍यो, कोसँग हारगुहार गर्नु ।”

गाउँमा हूलका हूल बाँदर खेतबारीमा पसेर बाली नष्ट गर्ने र धपाउन जाँदा आक्रमण गर्न आउने गरेको उनले दुःखेसो पोखे। घरको दलान, कोठामा राखेका मकैलगायत करेसाबारीमा रोपेका तरकारी तथा फलफूल बाँदरबाट जोगाउन गाह्रो भएको स्थानीय कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ । बालीनाली जोगाउन बिहानदेखि बेलुकासम्म खेतबारीमा कुर्दा पनि जोगाउन नसकिएकोे उनको भनाइ छ ।

कालीनदी छेउछाउका केही कृषकले खेती गर्नसमेत छाडेका छन् । घरमा रहेका महिला, बालबालिका तथा वृद्धवृदाले बिहानदेखि बेलुकासम्म बाँदर धपाउन समस्या भएपछि केही खेतहरु बाँझै छाडेको कषकहरु बताउँछन् । रामपुर नगरपालिका–७ का कृषकले विकल्पमा बेसार खेती रोजेका छन् ।

तिनाउ गाउँपालिकामा बाँदर, बँदेल र दुम्सीले खेती खाइदिएपछि छ । तिनाउको गड्टा, झ्याङ्ला, गणेशटोल, बगाहा, नुवाकोट, हरियाली लगायतका क्षेत्रमा वन्यजन्तुले खेती खाएर नष्ट पार्ने गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउँछन् । सो क्षेत्रमा बँदेलको आक्रमणबाट केही समयअघि एक बालकसमेत घाइते भएका थिए ।

तिनाउ गाउँपालिका–२ का कृषक इमानसिंह थापाले गत फागुनमा लगाएका मकै बाँदरले खाएर नष्ट पारेको गुनासो गरे। पछिल्लो समय दुम्सीले समेत नष्ट पारेपछि खेतमा नै बिजुली बत्ती जडान गरेको उनले बताए। तिनाउमा केही दिनअघि असिनापानीले समेत करीब रु २५ लाख बराबरको बाली नष्ट पारेको गाउँपालिकाले जनाएको छ सो गाउँपालिकाको २०७७/७८ को बजेटमा कृषि बीमा कार्यक्रम ल्याउने तयारी रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

बगनासकाली, तानसेन नगरपालिकाको छेर्लुङ्, रम्भा गाउँपालिकामा पनि कृषकको दिनचर्या बाँदर कुरेरै बित्ने गरेको छ । बगनासकाली गाउँपालिका पाल्पाले गएको वर्ष बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर समिति गठन गरे पनि खासै प्रभावकारी हुन सकेको छैन ।

रम्भा गाउँपालिका–३ अगाहा खोला क्षेत्रमा भने महिलाहरुले विकल्पका रुपमा निमुवा खेती गर्न थालेका छन् । कागती तथा निमुवामा क्षति नगर्ने भएकाले यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ । बाँदरले पटकपटक दुःख दिने गरेको पाल्पामा नियन्त्रणको खास योजना सफल हुन नसकेको रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन् । गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताए पनि त्यसको कार्यान्वयनमा समस्या भएको उनको धारणा छ ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बाँदर नियन्त्रणमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा कार्यक्रम ल्याउने बताए । उनले बाँदर लखेट्ने दीर्घकालीन योजना अहिलेसम्म नभएकाले पनि अलमल भइरहेको स्पष्ट पारे । उनले कृषकको समस्यालाई बुझेको र यसका लागि तर्साउने मेशिन र तारजाली लगायतको उपर्युक्त उपाय खोजिने जानकारी दिए । कृषकले भने स्थानीय स्तरमा सरकार भए पनि बाँदर नियन्त्रणका लागि ठोस योजना ल्याउन नसकेको गुनासो गरेका छन् ।  रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button