अमेरिकामा यसरी आयोजना हुँदैछ अब कन्सर्ट

अमेरिका। अमेरिकाको साङ्गीतिक कार्यक्रम आयोजक लाइभ नेसनले कोरोना महामारीबीच कन्सर्टहरु आयोजना गर्ने भएको छ ।

आगामी जुलाईमा हुने लाइभ फ्रम ड्राइभ इन नामक ९ कन्सर्टहरुको शृङ्खलालाई आयोजक लाइभ नेसनले सोमबार सार्वजनिक गरेको हो । जुलाई १०-१२ मा टेनेसीको नेसभिल, मिजोरीको मेरील्यान्ड हाइट्स र इन्डियानाको नोबल्सभिलमा कार्यक्रमहरु आयोजना हुनेछ । कन्सर्टमा ब्राड पेस्ले, डेरियस रकर, जोन पार्डी, नेली लगायत कलाकारहरु सहभागी हुने जनाइएको छ ।

कन्सर्टमा सहभागी हुने दर्शकहरुका लागि यो नयाँ ढाँचाको अनुभव हुनेछ । कन्सर्ट पार्किङ लटमा आयोजना हुनेछ भने बढीमा चार यात्रु एउटा गाडीमा चढेर सहभागी हुनेछन् । हरेक गाडी पछाडी दुई गाडी राख्न मिल्ने खाली ठाउँ हुनेछ जहाँ सहभागीहरु आफ्ना सहयात्रीहरुसँग नाच्न तथा पार्टी गर्न सक्नेछन् । सहभागीलाई खाना, पेय पदार्थ तथा कुर्सीसमेत आफै बोक्न अनुरोध गरिएको छ ।

त्यस्तै लाइभ नेसनका सबै कर्मचारी तथा सहभागीलाई अनिवार्य मास्क लगाउन निर्देशन दिइएको छ भने कुनै सम्पर्क विना स्क्यानिङ गरेर टिकेटिङको व्यवस्था गरिने जनाइएको छ । आ-आफ्नो पार्किङ क्षेत्रमा पुगेपछि भने दर्शकलाई मास्क अनुवार्य गरिएको छैन । कार्यक्रमको टिकेट बिक्री आगामी शुक्रबार देखि खुला हुने पनि आयोजकले जनाएको छ ।

कार्यक्रमस्थलको क्षमता १ हजार गाडीमा ४ हजार दर्शक हुने जनाइएको छ । कार्यक्रम आयोजना गर्न स्थानीय निकायहरुको अनुमति पाइसकेको लाइभ नेसनले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button