म्याग्दीमा ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ अभियान

म्याग्दी। पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले काम र रोजगारीको अवसर सिर्जना गर्ने गरी गाउँपालिकामा भूमि बैंकको स्थापना गरेको छ ।

कोभिड–१९ ले रोजगारी खोजिएपछि गाउँ फर्किने युवा तथा महिला उद्यमीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाभित्र बाँझो जमिनलाई सदुपयोग गर्न १० लाख बजेट विनियोजन गरी भूमि बैंक स्थापना गरेको हो ।

यसका लागि गाउँपालिकाकाले ‘गाउँमै कमाउँँ, मालिकामै रमाउँ’ अभियान शुरु गरेको छ । अभियानअन्तर्गत सामूहिक व्यवसायका लागि बाँझो जग्गा प्रयोग, पकेट क्षेत्र, औजार खरिदलगायत विभिन्न उत्पादनमुखी क्षेत्रमा सघाउने गरी ८५ लाख ९७ हजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताइन।

“गाउँ फर्किएकालाई गाउँमै रोक्ने अभियान छ”, “अब कृषि र पशुपालनमा अनुदानलाई प्रोत्साहन गर्छौं”, उनले भनिन । गाउँपालिकाले केही वडामा बाँझो जमिनको सदुपयोग शुरू गरिसकेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा बसेको सातौँ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का रु ४१ करोड ५४ लाख १० हजार ९४९ बराबरको बजेट पारित गर्दै कृषि, पशुपालनका साथै पर्यटनको क्षेत्रमा समेत उच्च प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । “अब सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित नगरी समृद्ध गाउँपालिका बनाउन सकिँदैन्”, “यसपटक रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ”, अध्यक्ष रोकाले भने । उनले गाउँपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा समेत सघाउने बताए ।

गाउँपालिकाले रु १३ करोड ६५ लाख पूँजीगत र पाँच करोड ५० लाख चालुतर्फ विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा बजेटलाई उच्च प्राथमिकता दिए पनि रोजगारमूलक अभियानलाई विगतमा जस्तो हेलचेक्राइँ नगरिएको भन्दै बजेट कार्यान्वयनले समेत थप सहज हुने जनप्रतिनिधिको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले पर्यटन क्षेत्रतर्फ मालिका–५ हकलानडाँडामा वुद्ध स्तुपाको निर्माण र प्रसिद्ध मालिका मन्दिरमा कलात्मक मूर्तिसहित सम्रग गाउँपालिकाभित्रको पर्यटन विकासमा रु ६३ लाख ७० हजार विनियोजन गरिएको बताए ।

त्यस्तै दरबाङको छ्यारछ्यारेमा निर्माणाधीन अवस्थामा रहेको खेलमैदानलाई प्रदेशस्तरीय साझेदारी कार्यक्रमअन्तर्गत रु ५० लाख र विषद् कोषमा रु एक करोड ७६ लाख १३ हजार विनियोजन गरिएको उनले जानकारी दिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button